इलाका प्रहरी कार्यालय मंगलटारले गर्यो नागरिक सुनुवाई

नौलो समाचार संवाददाता
२०८० मंसिर २६, मंगलबार मा प्रकाशित १४७ पटक पढिएको
इलाका प्रहरी कार्यालय मंगलटारले गर्यो नागरिक सुनुवाई

रोशी । इलाका प्रहरी कार्यालय (इप्रका) मंगलटारले नागरिक सुनुवाई गरेको छ ।

इप्रका प्रमुख रहेका प्रहरी निरिक्षक पञ्चलाल गोलेले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिकमा भएका घटना र त्यसमा प्रहरीले गरेको कर्तव्यपालनाका बारेमा जानकारी गराएका हुन् ।

गोलेले सो अवधीमा इप्रका मंगलटारको कार्यक्षेत्रमा ६६ सवारी दुर्घटनामा ४६ जना पुरुष र ११ जना महिला घाइते भएको जानकारी गराए । २ जनाको मृत्यु भएको उनले जानकारी दिए । जबरजस्ती करणीका २ मुद्धा दर्ता भएको, १ जनाले झुण्डी आत्म हत्या गरेको,आगलागिको घटना १ वटा, ३ जना चोरी मुद्धामा परेको जानकारी दिए ।

उनका अनुसार, ३ वटा झैझगडा, २ वटा चोरीको मोटरसाईकल नियन्त्रणमा लिएको साथै जनचेतनामूलक कार्यक्रम २८ वटा सञ्चालन गरेको र ८ वटा सिसिटिभी जडान गरिएको छ ।

नेपाल टेलिकमको नेटवर्क राम्रो नहुँदा घटनाका सूचना आउन ढिलाइ भएको गुनासो गरे ।

सहभागीले प्रहरीको कामकारबाहीकाबारेमा प्रश्न गरेका थिए ।

नागरिक सुनुवाई कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रहरीसंगको सहकार्यमा विपदमा नागरिकलाई सेवा दिएको तर्क गरे ।

उनले गाउँपालिकाका सुरक्षा संवेदनशील स्थानहरूमा सिसिटिभी जडान भएको भन्दै थप गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मोबाइल नेटवर्कका कारण समस्या भएको भन्दै उनले नेपाल टेलिकमका पदाधिकारीहरुसंग छलफल गरिएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा, वडाध्यक्षहरू, गाउँपालिकाका शाखा प्रमुखहरू र स्थानीयको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस