काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त : पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित

नौलो समाचार संवाददाता
२०८० मंसिर २७, बुधबार मा प्रकाशित १७३ पटक पढिएको
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त : पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित

धुलिखेल \ काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् ।

मंसिर २७ गते बुधबार केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्तमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित भएका हुन् ।

तीमध्ये आर्टसका २ सय ९ जना, एजुकेसनका २ सय २५ जना, इन्जिनियरिङका ३९ जना, कानूनका ३९ जना, मेनेजमेन्टका ४ सय ४८ जना, मेडिकल साइन्सेजका ७ सय ७७ जना र साइन्सका १ सय १ जना छन् । दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरूषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना ) छ । दीक्षितमध्ये विदेशी विद्यार्थीहरुको प्रतिशत ६ दशमलब १५ छ । भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका १ सय १३ जना विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर्स अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टिलिजेन्समा १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर्स अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर्स इन हाइयर एजुकेसनमा ९ जनालाई उपाधि प्रदान गरिएको छ ।

स्नातक तहमा सबैभन्दा बढी ८४ दशमलव २६ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ विराट मेडिकल कलेजकी सनम ढकाललाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ८९ ल्याउने स्कुल अफ म्यानेटमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.७६ सिजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका अंकित सुवेदीलाई प्रदान गरियो ।

स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८० दशमलव २९ प्रतिशत अंक प्राप्त गर्ने विराट मेडिकल कलेजकी सस्कृती श्री ढकाल र स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट) मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९७ प्रतिशत प्राप्त गर्ने सौगात बास्तोलालाई प्रदान गरियो ।

उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएका छन् ।

कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास प्रमुख अतिथी थिए । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी सहभागी थिइन् ।

प्रतिक्रिया दिनुहोस