धुलिखेल–खावा सडक समयमा नै निर्माण सक्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नौलो समाचार संवाददाता
२०८० मंसिर २७, बुधबार मा प्रकाशित २७६ पटक पढिएको
धुलिखेल–खावा सडक समयमा नै निर्माण सक्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पाँचखाल \ समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण समयमा नै सक्न अनुरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ ।

महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुन अरनिको राजमार्ग नै प्रयोग गरेर पाँचखाल आएका प्रधानमन्त्री दाहाललाई धुलिखेल वडा नं ८ र पाँचखाल वडा नं ५ का स्थानीय जनताका प्रतिनिधीको तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा २०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने गरी ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिले हालसम्म १५ प्रतिशत मात्रै काम सम्पन्न गरेकोले यथासिघ्र काम सम्पन्न गर्न निर्देशन दिन अनुरोध गरिएको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भइ यात्रुहरु घाइते हुने र मृत्युको जोखिम समेत बढेको भन्दै यथासिघ्र निर्माण सम्पन्न गराउन अनुरोध गरिएको छ ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं फर्किए लगत्तै निर्माण व्यवसायीलाई बोलाएर तत्काल बाटो बनाउने पहल गर्ने विश्वास दिलाए । ‘धुलिखेलबाट यता आउँदा मलाई बाटो त बनिसक्यो होला, सरर्र जान पाइएला भन्ने लागेको थियो, मैले मेरो सबारीचालक र सुरक्षा अधिकृतसँग पनि कुरा गरेँ, बाटो त उस्तै रहेछ,’ उनले भने, ‘यहाँ ज्ञापनपत्र पनि दिनुभयो, यहाँबाट फर्किएलगत्तै निर्माण व्यवसायीलाई बोलाएर, उहाँहरुको समस्या छ भनेपनि समाधान गर्ने गरी तत्काल पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’

सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति दिएको छैन ।


प्रतिक्रिया दिनुहोस