युक्रेनी सेनाको कब्जामा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकाललाई स्वदेश फर्काइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण

नौलो समाचार संवाददाता
२०८० मंसिर २७, बुधबार मा प्रकाशित ३८७ पटक पढिएको

युक्रेनी सेनाको कब्जामा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकाललाई स्वदेश फर्काइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण

पाँचखाल \ युक्रेनी सेनाको कब्जामा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको जीवनरक्षा गरी स्वदेश फकाईदिन परिवार, आफन्त र जनप्रतिनिधीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुन पाँचखाल आएका प्रधानमन्त्री दाहाललाई कार्यक्रमस्थलमा नै भेटेर उनको जीवनरक्षा र रिहाइको लागि ध्यानाकर्षण गराएको मण्डनदेउपुर नगरपालिका वडा नं ६ का अध्यक्ष सोमप्रसाद ढकाल (कुमार)ले जानकारी दिए ।

सिद्धार्थका ठूलो बुबा ,माइलो बुबा ,दिपक ढकाल, गोकुल डोटेल लगायतले भेटेर प्रधानमन्त्रीको ध्यानकर्षण गराएका हुन् ।

उच्च शिक्षा अध्ययनको लागि रसिया गएका सिद्धार्थ कलेजमा बुझाउने पैसा दलाल (एजेन्ट) ले नहालिदिएपछि रोजगारीको लागि रसियाली सेनामा भर्ती भएका थिए ।

२०८० मंसिर १८ गते उनलाई युक्रेनी सेनाले कब्जामा लिएको भन्दै उद्धारको लागि पहल गरिदिन सरकारलाई अनुरोध गरेको भिडियो सार्वजनिक भएको थियो । मंसिर १९ गते नै वडाअध्यक्ष ढकाल, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, एमाले नेता नवराज ढकालसहित परिवारका सदस्यले परराष्ट्रमन्त्री एन.पी साउदलाई भेटेर रिहाइको लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री दाहालले परिवारसंगको कुराकानीमा रिहाइको पहल गरिएको भन्दै चिन्ता नलिन अनुरोध गरेका थिए । काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि प्रधानमन्त्री दाहालले अहिले विभिन्न बाध्यताका कारण २ सय भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक भएको भन्दै सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएका थिए ।

सिद्धार्थको सार्वजनिक भएको भिडियो सन्देशमा रेडजोनमा रहेका मध्ये धेरै मारिएको भन्दै नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर खबर सुनाइदिनु भनिएको छ ।


प्रतिक्रिया दिनुहोस