अलग हुन ‘औपचारिक’ रुपमा अघि बढे केयू र धुलिखेल अस्पताल

नौलो समाचार संवाददाता
२०८० मंसिर २८, बिहिबार मा प्रकाशित १७२५ पटक पढिएको
अलग हुन ‘औपचारिक’ रुपमा अघि बढे केयू र धुलिखेल अस्पताल

धुलिखेल \ पचास बर्ष सहकार्य गर्ने सम्झौता गरेका दुई संस्था अलग हुन ‘औपचारिक’ रुपमा अघि बढेका छन् । व्यक्तिगत मतभेदका कारण विवाद बढ्दै गएपछि काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालले अलग हुने औपचारिक तयारी गरेका हुन् । केयूले आफ्नो शिक्षण अस्पतालको तयारी थालेको छ भने केयू शिक्षण अस्पताल रहेको धुलिखेल अस्पतालले अलग्गै विश्वविद्यालयको तयारी थालेको हो ।

२०५९ चैत्र १९ गते भएको सम्झौतामा यी दुई संस्थाविच ५० बर्ष सहकार्य गर्ने उल्लेख थियो । ५० बर्षसम्म धुलिखेल अस्पतालाई केयूको शिक्षण अस्पतालको रुपमा विकास र प्रयोग गर्ने सहमति भएको थियो ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमा धुलिखेल चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्न आवेदन गर्ने २०८० असोज १८ गते बसेको अस्पताल कार्यकारी समितिको निर्णय २०८० कार्तिक २४ गते बसेको अस्पताल सभाले अनुमोदन समेत गरेर २०८० मंसिर १ गते पत्र मार्फत केयूलाई जानकारी गराइसकेको छ ।

केयू पनि शिक्षण अस्पताल निर्माणमा अघि बढेको औपचारिक रुपमा नै घोषणा गरिएको छ । २०८० मंसिर २७ गते भएको विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा केयूका उपकूलपति डा. भोला थापाले स्वास्थ्य सेवालाई किफायती, पहुँचयोग्य र विश्वव्यापी विकासका साथ अद्यावधिक बनाउने ढृढ संकल्पका साथ काठमाडांै विश्वविद्यालयले ‘निकट भबिष्यमा’ ‘सुपर स्पेसलिटी अस्पताल’ स्थापना गर्ने महत्वाकांक्षी योजनाको लागि पहल गरिरहेको ‘घोषणा’ गरे । उनले मेन्टल हेल्थ रिसर्च सेन्टर सञ्चालनमा आइसकेको र निकट भविष्यमा नै डाइबेटिक रिसर्च सेन्टर र अस्पताल पनि सञ्चालनमा ल्याउन विश्वविद्यालय कटिबद्ध रहेको आफ्नो दीक्षान्त भाषणमार्फत घोषणा गरे ।

विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न तत्पर रहेको बताउँदै नेपाल सरकारका सहकर्मीहरूलाई काठमाडौं विश्वविद्यालयलाई सहयोग गर्न मञ्चबाटै निर्देशन दिए । ‘स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ, यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु,’ २९ औं दीक्षान्त समारोहको अध्यक्षता गरेका प्रधानामन्त्री दाहालले निर्देशन दिए, ‘विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु, म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौं विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु ।’

काठमाडौं विश्वविद्यालयले एक हजार शैयाको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा खुसी लागेको भन्दै उनले केयूले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा विश्वस्त भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस