धुलिखेल ११ मा सिंचाई आयोजना शिलान्यास

१ सय २० घरधुरी लाभान्वित हुने
नौलो समाचार संवाददाता
२०८० पौष २, सोमबार मा प्रकाशित १५७४ पटक पढिएको
धुलिखेल ११ मा सिंचाई आयोजना शिलान्यास

धुलिखेल \ धुलिखेल–११ कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास गरिएको छ ।

बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत निर्माण हुने सिंचाई आयोजना मन्त्री तीर्थ लामाले शिलान्यास गरेका हुन् ।

कल्छेवेशी घट्टेखोला कुलो मर्मत तथा निर्माण सिंचाई जल उपभोक्ता समितिमार्फत ४ सय ३२ मिटर सिंचाई कुलो निमार्ण हुने जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय काभ्रेका प्रमुख विनय पौडेलले जानकारी दिए । यसअघि वडा कार्यालयमार्फत ६ लाखको लागतमा १ सय २० घरधुरी लाभान्वित हुने २ सय मिटर कुलो निर्माण भइसकेको छ ।

तरकारीको पकेट क्षेत्रको रुपमा रहेको कल्छेवेशीमा निर्माण हुने सिंचाई कुलोले यहाँको तरकारी उत्पादनमा बृद्धि गर्ने भएकोले औधी खुशी लागेको स्थानीय कल्पना तिमल्सिनाले बताइन् ।

मन्त्री तीर्थ लामाले चुनावी प्रतिवद्धता अनुसार कल्छेबेशीका विकासका आवश्यकता क्रमशः पुरा गर्दै लैजाने बताए । उनले सो भेगको दुई सिंचाई आयोजनामा प्रदेशले लगानी गरेको भन्दै ती आयोजनामा चालु आर्थिक बर्षमा नै पुरा गर्ने गरी काम बढाउन निर्देशन दिए ।

धुलिखेल वडा नं ११ का वडाअध्यक्ष नारायण बडालले कृषि बाहुल्य क्षेत्रमा सिंचाई आयोजनामा रकम विनियोजन गरेकोमा मन्त्रीलाई आभार प्रकट गर्दै सडक निर्माणको लागि पहल गरिदिन अनुरोध गरे ।

उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र हुमागाईले समयमा नै आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

उपभोक्ता समितिका सचिव राजन तिमल्सिनाले कृषि उर्वर क्षेत्रमा विनियोजित आयोजनाले सयौं कृषक लाभान्वित हुने भन्दै हाइटेन्सन लाइन लगायतका समस्या समाधान गरिदिन अनुरोध गरे ।

कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जंगम, पूर्व गाविस अध्यक्ष केशव बडाल, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, १ (ख)का सहसचिव विनोद तिवारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस धुलिखेल नगर सभापति विदुर बस्नेत, शैक्षिक परामर्श संघका सचिब भवनाथ हुमागाई, नेपाल तरुण दल काभ्रेका सचिव सुरज तिमल्सिना, स्थानिय रामप्रसाद हुमागाई, डोरनाथ गौतम लगायत स्थानीयको उपस्थिती थियो ।

बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०÷८१ को लागि बजेटमा समावेश भएका छन् ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामा मन्त्री रहेको खानेपानी, उर्जा र सिंचाई मन्त्रालयबाट मात्रै काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन भएको छ । क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।


प्रतिक्रिया दिनुहोस