बेथानचोकको पाट्नेखोलामा बन्ने भयो मोटरेवल पुल

नौलो समाचार संवाददाता
२०८० पौष ६, शुक्रबार मा प्रकाशित २७३ पटक पढिएको
बेथानचोकको पाट्नेखोलामा बन्ने भयो मोटरेवल पुल

ढुंखर्क \ बेथानचोक गाउँपालिकाको केन्द्र भएर बग्ने पाटनेखोलामा मोटरेवल पुल बन्ने भएको छ ।

पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङवेशी –फापरबारी सम्म पुग्ने सडक अन्तर्गत ढुङखर्क–२ स्थित पाट्नेखोलामा मोटरेवल पुल बन्न लागेको हो । संघीय सरकारका शहरी विकास मन्त्री सिता गुरुङले शुक्रवार मोटरेवल पुल शिलान्यास गरेकी छन् ।

खोलामा फड्के भएपनि ठाडो खोला भएका कारण बर्षामा यातायातका साधन सञ्चालन गर्न कठिनाइ थियो । अहिले पनि मोटरसाइकल लगायतका साना सवारीसाधनले खोला पार गर्न समस्या हुँदै आएको छ ।

२० मिटर लामो पुल भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुरमार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न गर्ने गरी खम्पाचे –गोल्मादेवी इञ्जिनियरिङ जेभीले ठेक्का पाएको छ । आर.सि.सि. पुल निर्माणका अलावा ग्याबिन वाल र पहुँच मार्गको काम हुनेछ ।

सोही अवसरमा मन्त्री गुरुङले नयाँबस्ती दुर्लुङखोला सडक स्तरोन्नति कार्यको पनि शुरूवात गरिन् ।

शिलान्यास गर्दै मन्त्री गुरुङले पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङवेशी –फापरबारी सम्म पुग्ने सडकलाई वैकल्पिक सहायक राजमार्गको रुपमा विकास गर्ने भन्दै ३ बर्षभित्र पूरा गर्ने प्रतिवद्द्ता व्यक्त व्यक्त गरिन् ।

बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले सो क्षेत्रको विकासको लागि आफू निरन्तर लागेको बताए ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाको विकासको लागि साझा प्रयास गरिएको वताए ।

गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकाले त्यसको जस लिन तछाडमछाड गर्न नहुने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोकको विकासमा सबै दल र जनप्रतिनिधि एकै ठाउँमा रहेको बताए ।

बेथानचोक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङवेशी –फापरबारी सम्म पुग्ने सडक अन्तर्गत बनेको पुल सो क्षेत्रको विकासको लागि कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस