धुलिखेलमा मंगलबार ‘योमरी जात्रा’

नौलो समाचार संवाददाता
२०८० पौष ८, आईतबार मा प्रकाशित १९९ पटक पढिएको
धुलिखेलमा मंगलबार ‘योमरी जात्रा’

धुलिखेल \ योमरी पुन्हीको अवसरमा पुष १० गते मंगलबार धुलिखेलमा ‘योमरी जात्रा २०८०’ आयोजना गरिएको छ ।

धुलिखेल–७ मा रहेको लाक्षी महिला समूहले नारायणस्थान लाक्षी डबलीमा योमरी जात्रा गर्न लागेको हो ।

नेवारी समुदायको विशेष परिकार योमरीका साथै विभिन्न नेवारी परिकारका साथै स्थानीय उत्पादनका १० स्टल रहने आयोजक संस्थाका अध्यक्ष दिवा व्याञ्जु श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, घरेलु तथा हस्तकलाका उत्पादन, विभिन्न महिला समूहले बनाएको अचार, स्थानीय सुन्तला लगायतका सामानहरु स्टलमा राखिनेछन् ।

नेवारी समुदायले मान्दै आएको चाड योमरी पुन्हीका बारेमा जानकारी दिने र सामुहिक रुपमा चाड मनाउने उद्धेश्यले आयोजित कार्यक्रममा धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध नगरका करिब ८ सय देखि १ हजार जनाले अबलोकन गर्ने अनुमान आयोजकको छ ।

नेवारी कला संस्कृती झल्कने विभिन्न झाँकी, नाँचहरुसहित स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

योमरी पुन्ही हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा (पहिलो पूर्णिमा) अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिल मनाउने पर्व हो ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । चामलको पिठो, चाकु, तिल, पानी राखेर योमरी तयार गरिन्छ ।


प्रतिक्रिया दिनुहोस