डिआइजी रविन्द्र केसीद्वारा लिखित कथासंग्रह ‘सम्बन्धको दोबाटो’ विमोचित

नौलो समाचार संवाददाता
२०८० पौष १५, आईतबार मा प्रकाशित १९६ पटक पढिएको
डिआइजी रविन्द्र केसीद्वारा लिखित कथासंग्रह ‘सम्बन्धको दोबाटो’ विमोचित

बनेपा- प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी)बसन्त बहादुर कुँवरले उक्त कथासंग्रह विमोचन गरेका हुन्। 

आइजिपी कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताए ।

नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासंग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए।

उक्त अवसरमा डा. धुर्व चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्य कर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे।

राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए।


प्रतिक्रिया दिनुहोस