आपतकालीन अवस्थाको व्यवस्थापन गर्न मेथिनकोट अस्पतालमा पूर्वअभ्यास गरियो

नौलो समाचार संवाददाता
२०८० पौष १९, बिहिबार मा प्रकाशित १७५ पटक पढिएको
आपतकालीन अवस्थाको व्यवस्थापन गर्न मेथिनकोट अस्पतालमा पूर्वअभ्यास गरियो

भकुण्डेवेशी \ मानवसिर्जित वा प्राकृतिक प्रकोप जस्ता आपतकालीन अवस्थाको व्यवस्थापनका लागि मेथिनकोट अस्पतालमा पूर्वअभ्यास (ड्रिल) गरिएको छ ।

मेथिनकोट अस्पतालको आयोजनामा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको अभ्यासमा नेपाली सेनाको २६ नं बाहिनीका सैनिक कर्मचारी, प्रहरी चौकी भकुण्डेवेशीका प्रहरीका साथै धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीले ‘नाटकीय रुपमा’ दुर्घटना भएको देखाउ“दै त्यसको व्यवस्थापन गरेका थिए ।

नाटकीय अभ्यासमा नमोबुद्ध ६ स्थित वी.पी राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएका २० मध्ये सामान्य ३ जना बाहेक १७ जनालाई अस्पताल ल्याइएको थियो । ती मध्ये अति जोखिममा रहेका ६, जोखिममा रहेका ३ जना, सुरक्षित रहेका ७ जना थिए । १ जनाको मृत्यु भएको देखाइएको थियो । १ जनाको तत्काल शल्यक्रिया गरिएको थियो भने सिटिस्क्यानको सुविधा नहुँदा १ जनालाई अर्को अस्पतालमा रिफर गर्नुपर्नेको बताइएको थियो । सहभागीले दुर्घटना लगायतकका आपतकालीन अवस्थाको व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गरेका थिए ।

अभ्यासमा सहभागी मेडिकल अफिसर डा. मिलन आचार्यले नाटकीय अभ्यासमा तयार गरिएको पूर्वाधार अरु समयमा पनि तयार गर्नुपर्ने बताए । नर्सिङ अफिसर कविता श्रेष्ठले बर्षौदेखिको अनुभव भएपनि उक्त अभ्यासले आपतकालीन व्यवस्थापनमा धेरै ज्ञान भएको बताए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले एउटा औषधी वा सुईले मानिसको जीवन रक्षा गर्न सक्ने भन्दै आपतकालीन अवस्थामा गर्नुपर्ने व्यवस्थापनको अभ्यासले धेरै कौशल र सीप प्राप्त हुने बताए । नीति तथा कार्यक्रम बनाउँदा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउँदै उनले मेथिनकोट अस्पतालले झेल्दै आएको भवनलगायतका पूर्वाधारको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले सबैको उद्धेश्य मानवीय क्षति कम गर्ने भएको भन्दै ‘भगवानरुपी’ स्वास्थ्यकर्मीले अरुको जीवनरक्षाको लागि काम गर्नुपर्ने बताए । मेथिनकोट अस्पताल सञ्चालनको लागि नगरपालिकाको तर्फबाट धेरै सहयोग गरेको भन्दै उनले पोष्टमार्टम लगायतका सेवा दिनुपर्ने बताए ।

पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले मानवीय क्षति कम गर्न यस्ता अभ्यासहरु हुनुपर्ने बताइन् ।

नेपाली सेनाको २६ नं बाहिनीपति सहायक रथी सुनिल घलेले अभ्यासका लागि घटना तयार गर्दै समूह कार्य गन पाएको भए अझ यथार्थपरक हुने तर्क गरे ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले अस्पतालले रोशी गाउँपालिकाका नागरिकलाई पनि सेवा दिइरहेको भन्दै पालिकाको तर्फबाट पनि सहयोग गर्ने बताए ।

धुलिखेल अस्पतालको आकस्मिक सेवा विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले मेथिनकोट अस्पतालले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको स्तरीय आपतकालीन व्यवस्थापन योजना बनाएको भन्दै प्रशंसा गरे ।

मेथिनकोट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालले आर्थिक संकट बेहोरिरहेको भन्दै भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्न नसक्दा साँघुरा संरचनामा सेवा दिनुपरिरहेको बताए ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले श्रोत र साधनको अभावमा सेवा विस्तार गर्न नसकिएको भन्दै गुनासो व्यक्त गरे । उनले मृगौला डाइलासिस, शल्यक्रिया लगायतका सेवा सुरु गरेको भन्दै दुई साताभित्र सिटीस्क्यान सेवा पनि सुचारु गर्ने बताए ।

मेडिकल अधिकृत डा. हिमाल खनालले अस्पतालले विपद प्रतिकार्य योजना बनाइसकेको जानकारी दिँदै राजमार्गमा हुने सवारी दुर्घटनाका दुर्घटना बढी हुने बताए ।


प्रतिक्रिया दिनुहोस