सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

नौलो समाचार संवाददाता
२०८० पौष २१, शनिबार मा प्रकाशित २०३ पटक पढिएको
सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार,  आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् ।

संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार लिटर संकलन तथा विक्री गर्ने गरेको जानकारी दिइयो ।

संस्थाका अध्यक्ष केदारप्रसाद सापकोटाका अनुसार, कृषकलाई दुध प्रति लिटर ३ रुपैयाँ ५६ पैसाका दरले यो बर्ष अनुदान समेत दिइएको छ । ५० मेट्रिक टन आलु भण्डारण गर्ने क्षमताको चिस्यान केन्द्र स्थापना गरेको सहकारीले २० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र विस्तार गर्ने तयारी गरेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
उनका अनुसार, सहकारीले पाँचखाल नगरपालिकाको ५ लाख सहयोगमा संस्थाले लगानी गरेर २० लाखको लागतमा विउ संकलन केन्द्र निर्माण गरेको छ । सहकारीले यसै बर्ष ५६ मेट्रिक टन धान र मकैको विउ उत्पादन गरी ४२ लाखमा विक्री गरेको छ । विउमा ५० प्रतिशत अनुदान समेत दिएको छ ।

सहकारीले आफ्नै कृषि पसलमार्फत मल, विउ, ढुटो, चामल, दानाको कारोबार गरिरहेको सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए । व्यवस्थापक, सहव्यवस्थाक, २ जना कृषि प्राविधिक, २ जना दुध संकलक र सुरक्षा गार्डसहित ७ जना कर्मचारी समेत छन् ।

यो बर्ष २४ करोड कारोबार गरेको सहकारीले २७ लाख खुद मुनाफा आर्जन गरेको कोषाध्यक्ष बासुदेव प्याकुरेलले जानकारी दिए ।

साधारणसभा उद्धघाटन गर्दै पाँचखाल नगर प्रमुख महेश खरेलले संस्थाले गरेको कामको प्रशंसा गर्र्दै सहकारीहरु सदस्यको आम्दानी बृद्धि लगायतका काममा लाग्नुपर्ने बताए ।

कार्यक्रमा कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, सिमिट इन्टरनेशनलकी रिसर्च एशोसिएट सविना तिवारी, राष्ट्रिय सहकारी बैंक बनेपा शाखा प्रबन्धक उपेन्द्र दाहाल, मथुरेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष राजु सत्याल, संस्थाका उपाध्यक्ष सुदर्शन प्याकुरेल, सदस्य दिपक सापकोटा लगायतले सहकारी र कृषि क्षेत्रबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस