जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउने

नौलो समाचार संवाददाता
२०८० पौष २५, बुधबार मा प्रकाशित २८६ पटक पढिएको
जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउने

धुलिखेल\ जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउने बताएको छ ।

कार्यालयबाट हुने सेवा प्रवाहबारे समयमा नै स्पष्ट जानकारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नुका साथै सेवा प्रवाह नै प्रभावित भएपछि सहायता कक्षलाई प्रभावकारी बनाएर सञ्चालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । ‘जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहबारे समयमा नै जानकारी नहुँदा सेवाग्राहीहरु अल्मलिएको, समयमा नै सेवा नपाएको पाइयो,’ प्रजिअ शर्माले भनिन्, ‘नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका बिषयमा सबै जानकारी भएको कर्मचारीको नेतृत्वमा नागरिक सहायता कक्ष सञ्चालन गरिनेछ, यसले सेवा प्रवाहमा पनि सुधार ल्याउनेछ ।’

हाल सञ्चालनमा रहेको नागरिक सहायता कक्षबाट हुलाक टिकट, अभिलेख भिडाउने, सहजीकरण हुँदै आएपनि प्रभावकारी हुन सकेको छैन ।

सेवाबारे यथेष्ट जानकारी नहुँदा सेवाग्राही अल्मलिने, घण्टौं समय लाग्ने र झण्झट बेहोर्दै आएका छन् ।

प्रजिअ शर्माका अनुसार, हाल दैनिक ३ सयदेखि ३ सय ५० जनासम्मलाई नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीको सेवा दिने गरिएको छ ।

नागरिकता सम्बन्धी अनलाइन प्रणाली अद्यावधिक गर्न केही समय लागेकोले पछिल्लो समय प्रशासन कार्यालयमा भीडभाड भएको स्विकारिन् ।

प्रमुख जिल्ला अधिकारीमार्फत फैसला हुने ७५ प्रतिशत मुद्दा फच्र्यौट भएको उनले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस