टुुहुरा बालबालिका बस्ने टहरामा समेत आगलागी, तरुण दल धुलिखेलले गर्यो सहयोग

नौलो समाचार संवाददाता
२०८० पौष २८, शनिबार मा प्रकाशित १५८४ पटक पढिएको
टुुहुरा बालबालिका बस्ने टहरामा समेत आगलागी, तरुण दल धुलिखेलले गर्यो सहयोग

धुलिखेल \ बाबुको मृत्युपछि आमा पनि बिवाह गरेर अन्यत्रै गएका ‘टुहुरा’ बालबालिका बस्दै आएको टहरामा आगलागी भएपछि उनीहरुको विचल्ली भएको छ ।

धुलिखेल–१२, सल्लेरीका २३ बर्षीय सुजाता केसी र उनका भाइ १९ बर्षीय सुदिप बस्दै आएको टहरामा पुष २४ गते आगलागी भएको थियो ।

उनीहरुका बाबुुको १८ बर्षअघि निधन भएको थियो । बाबुको मृत्यु भएको ३ बर्षपछि आमा अन्यत्रै गएकी थिइन् ।

हजुरआमाको संरक्षणमा बस्दै आएका उनीहरु हजुरआमाको समेत ३ बर्षअघि मृत्यु भएपछि थप ‘टुहुरा’ भएका छन् ।

आगलागीपछि उनीहरुको टहरा पूर्ण क्षति भएको छ । त्यहाँ रहेको १ बाख्रा जलेर मरेको छ, ४ वटा घाइते छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले पढाइ समेत छाडेका छन् ।

उनीहरुको अवस्था बारे जानकारी भएपछि तरुण दल धुलिखेलले खाद्यान सहयोग गरेको छ ।

करिब ४ महिनाको लागि पुग्ने गरी चामल, तेल, नुन, चिउरा, चिनी, चियापत्ती, चाउचाउ, विस्कुट लगायतका खाद्यान सहयोग गरिएको तरुण दल धुलिखेलका सभापति छिरिङ लामाले जानकारी दिए ।

सहयोग लिएर बलराम फार्मेसी धुलिखेलका बलराम थापा, प्रल्हाद मैनाली, तरुण दल धुलिखेलका कोषाध्यक्ष दिपेश रानाभाट, धुलिखेलका युवा नेता दिनेश लामा, अनुप लामिछाने, स्थानीय गौरव भण्डारी पुगेका थिए ।

सभापति लामाले आफूले सञ्चालन गर्दै आएको फायर हब नामक रेष्टुरेन्टमा सुदिपलाई रोजगारी दिने प्रतिवद्धता समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस