प्रदेशका योजना धमाधम सम्पन्न हुँदै, पनौती -४ मा ९२ हजार क्षमताको पानी ट्याङ्की र धारा निर्माण सम्पन्न

नौलो समाचार संवाददाता
२०८० माघ २, मंगलबार मा प्रकाशित ६७५ पटक पढिएको
प्रदेशका योजना धमाधम सम्पन्न हुँदै, पनौती -४ मा ९२ हजार क्षमताको पानी ट्याङ्की र धारा निर्माण सम्पन्न

बनेपा/ बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रेमा बिनियोजन भएका योजनाहरु धमाधम सम्पन्न हुँदै गएका छन् ।

नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहेका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामा नेतृत्वको मन्त्रालयमार्फत काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन भएको छ ।

क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।

मन्त्री लामामार्फत प्रदेशका विभिन्न मन्त्रालयबाट काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०/८१ को लागि बजेटमा समावेश भएका छन् ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएको हो । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो ।

खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत नै बिनियोजन भएको १५ लाख रुपैयाँबाट पनौती-४ मा ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्की मन्त्री लामाले उद्घाटन गरे । समितीमार्फत नै प्रत्येक घरधुरीमा खानेपानि पनि वितरण गर्नको लागि नगरपालिकाले १२ रोल पाइप, वडा नम्बर ४ ले ९ रोल पाइप सहयोग गरेको छ ।

उपभोक्ता समितीका अध्यक्ष दिपक थापाका अनुसार, एक घर एक धारा सहित आयोजना सप्पन्न गर्न २ सय १५ घरधुरीबाट ५ हजारका दरले र ५७ नयाँ सदस्यबाट ९ हजार ५ सयका दरले रकम उठाइएको छ ।

चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै २ इन्चको पाइपबाट ट्याङ्की सम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब ३ सय घरधुरी लाभान्वित भएको अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा मन्त्री लामाले वाग्मती प्रदेश सरकारको `एक घर एक धारा´को अभियान पूरा गर्न आफु प्रतिवद्ध भएर लागेको बताए । पनौतीका सबै वडावासिलाई खानेपानी खुवाउने योजना सहित प्रस्तुत हुन पनौती नगरपालिका प्रमुख र जनप्रतिनिधिलाई अनुरोध गर्दै आफ्नो मन्त्रालयबाट बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बाग्मती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले पनौतीमा खानेपानीको समस्या समाधान गर्न नगरपालिकालाई प्रदेश र संघीय सरकारसंग सहकार्य गराउने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अनुरोध गरे ।

पनौती नगर प्रमुख रामशरण भण्डारीले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न नसक्दा पनौतीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएको भन्दै त्यसलाई सम्पन्न गर्न तर्फ लाग्नुपर्ने बताए ।

पनौती नगर उपप्रमुख गिता बन्जारा पनौतीको विकास निर्माणमा सहकार्य गर्ने सबैलाई आभार प्रकट गरिन् ।

पनौती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपकप्रसाद दाहालले तोकिएको समयभन्दा धेरै छिटो सम्पन्न गरेकोमा आभार प्रकट गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ कार्यालयका डिभिजनल इन्जिनियर अनिलप्रसाद केशरीले बजेट भन्दा बढि श्रमदान गरेर आयोजना सम्पन्न गरेकोमा आभार प्रकट गरे ।

कार्यक्रममा स्थानीय अक्कलसिंह थापा, उपभोक्ता समितिका सचिब दिपक थापा लगायतले खानेपानीको समस्या तत्कालको लागि समाधान भएको भन्दै घेराबार लगायतको कामका लागि सहयोग गर्न अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस