रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली

नौलो समाचार संवाददाता
२०८० माघ ५, शुक्रबार मा प्रकाशित ३१५ पटक पढिएको
रोशी–११ को ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली

रोशी \ रोशी गाउँपालिका वडा नं. ११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको छ ।

प्रशारण लाइन जडान हुन बाँकी सो वडाको छहरे, भैसे, पौवा, भदौरे, मानेगाँउ, अमलाबासको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको हो ।

यसअघि ६ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिए । उनका अनुसार, करिब ७८ घरधुरीमा लाइन जडान गर्न बाँकी छ भने केही रधुरीमा सामुदायिक विद्युतिकरण विद्युत जडान गरिएको छ ।

स्थानीयहरूलाई रोशी गाउँपालिकाले निशुल्क विद्युत मिटर वितरण गरेको छ । त्यसको लागि गाउँपालिकाले ६ लाख खर्च गरेको वडाध्यक्षले जानकारी दिए ।

३० किलो मिटर एबिसि केवुल, ७४० वटा ८ मिटरको स्टिल पोल, ४ वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले जनाएको छ ।

यसअघि वडा कार्यालयमा समेत सौर्य उर्जामार्फत काम हुँदै आएको थियो । वडाअध्यक्ष पाख्रिनले केन्द्रीय प्रशारण लाइन जडान भएकोमा खुशी व्यक्त गर्दै नागरिकलाई अझै प्रभावकारी सेवा दिन सकिने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गरे ।

कार्यक्रममा उपाध्यक्ष मिमबहादुर वाइबा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, रोशी वडा नं. ११ का सभापति मिनबहादुर रुचाल, नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख लगायत उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस