पत्नीको स्मृतीमा विद्यालयमा छात्रवृती कोष स्थापना

नौलो समाचार संवाददाता
२०८० माघ ११, बिहिबार मा प्रकाशित ५७८ पटक पढिएको
पत्नीको स्मृतीमा विद्यालयमा छात्रवृती कोष स्थापना

मल्पी \ पनौती–८, खरिबोटका राजु के.सी. ले पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृती कोष स्थापना गरेका छन् ।

विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री लगायत आवश्यक सामानको लागि वार्षिक रुपमा व्याज रकम प्रदान गर्ने गरी पत्नी तुलसाको स्मृतीमा के.सीले ७ लाखको तुलसा स्मृती छात्रवृति कोष स्थापना गरेका हुन् ।

विद्यार्थीहरुको चौतर्फी विकास र हितका लागि कोष स्थापना गरिएको के.सी.ले जानकारी दिए । उनका अनुसार, कोषबाट विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत १÷१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृति प्रदान गरिनेछ ।

दाता राजु के.सी र श्रीमती रिता भट्टराई केसीले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

पुष २८ गते नगरप्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा समेतको उपस्थितीमा विद्यालय र केसी परिवारविच कोष सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

२०२८ सालमा साविक भूमिडाँडा गाविसमा बाबु भक्तबहादुर र आमा ललितकुमारीको कोखबाट जन्मिएकी तुलसा र राजुविच २०४४ सालमा विवाह भएको थियो । १ बर्षअघि तुलसाको हृदयघातबाट मृत्यु भएको थियो । तुलसा र राजुका १ छोरा र १ छोरी छन् । छोरी दिपा केसी, छोरा अमिर केसी र बुहारी रोशनी विदेशमा छन् ।

दाता केसीका बुबा लिलाबहादुर केसी उक्त विद्यालयका संस्थापक मध्येका हुन् । साविक मल्पी गाविसका पूर्वप्रधानपञ्च रहेका लिलाबहादुर उक्त विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् । उनका जेठा छोरा प्रदिप केसीले पनि सोही विद्यालयमा बुबाको स्मृतीमा अक्षयकोष स्थापना गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै रिता भट्टराई केसीले शिक्षाको उज्यालो किरणबाट कोही पनि बञ्चित हुनु नपरोस् भनेर सहयोग हस्तान्तरण गरिएको भन्दै त्यसको सदुपयोग हुने विश्वास गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले आवस्यकता पर्ने र उत्कृष्ट विद्यार्थीलाई छात्रवृति लगायतमा कोष प्रयोग हुने बताए ।

शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसीले सहयोगप्रति आभारप्रति आभार प्रकट गर्दै सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस