अक्षरमार्गको बार्षिकोत्सवमा ७ स्रष्टा सम्मानित

नौलो समाचार संवाददाता
२०८० माघ १३, शनिबार मा प्रकाशित २१० पटक पढिएको
अक्षरमार्गको बार्षिकोत्सवमा ७ स्रष्टा सम्मानित

पनौती \ अक्षरमार्ग साहित्यिक त्रैमासिकको ११ औं बार्षिकोत्सवमा ७ जना स्रष्टालाई सम्मान गरिएको छ ।

शनिवार पनौतीमा आयोजित बार्षिकोत्सव, सम्मान तथा पुस्तक लोकार्पण समारोहमा कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मान साहित्यिक पत्रकार नगेन्द्र शर्मालाई प्रदान गरियो ।

साहित्यकार सनत रेग्मीलाई श्रीराम अक्षरमार्ग सम्मान, वरिष्ठ कलाकार के.के कर्माचार्यलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान, गितकार गायत्री श्रेष्ठ र लेखक तथा पत्रकार श्रीकृष्ण महर्जनलाई नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान प्रदान गरियो । दार्जलिङकी कवि सुभद्रा बम्जनले ध्रुवमिरा अक्षरमार्ग मिराज स्रष्टा सम्मान र विदेशमा रहेरपनि साहित्य कर्ममा रहेका गोपाल पौड्याल (मण्डने) ले भरतराज अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मान प्राप्त गरेका हुन् ।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ (रोदन) ले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दुवालले अरुलाई नैतिकता सिकाउने साहित्यकारहरु आचरणमा बस्नुपर्ने बताए ।

श्रीओम रोदनले साहित्य क्षेत्रमा ‘सम्मान नै हुन नपर्नेहरु सम्मानित हुने गरेको’ बताउँदै कतिपय सम्मान विवादित हुने गरेको तर्क गरे । सरकारी निकायबाट हुने सम्मानमा पनि टाठा–बाठाहरुको हालिमुहाली हुने गरेकोेले विवादित भएपछि पछिल्लो समय संस्कृति तथा पर्यटन मन्त्रालयबाट अनुदान नै रोकिएको तर्क गरे ।

पनौती नगर प्रमुख रामशरण भण्डारीले भाषा र साहित्यको संवद्र्धन र विकासको लागि साहित्यकारहरुले योगदान गर्नुपर्ने बताए ।

अक्षरमार्गका अध्यक्ष तथा साहित्यकार सुर्यप्रसाद लाकोजुले स्थापनायता धेरै स्रष्टाहरुलाई सम्मान गरिसकेको भन्दै यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा विजयराम कर्माचार्य र अन्य सम्मानित श्रष्टाहरुले भाषा र साहित्यको विकास र प्रवद्र्धनमा अक्षरमार्ग र लाकोजूले खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

कार्यक्रममा लाकोजूले लेखेको पुस्तक ‘सिर्जनाका कला’ र ‘अक्षरका स्वरुप’ नामक मुक्तक संग्रह लोकापर्ण गरियो । माध्यमिक तहका विद्यार्थीलाई गद्य वा पद्य कविता लेख्न, गजल वा मुक्तक लेख्न भन्दै पाठयक्रममा राखिएको भन्दै त्यो सिकाइ परिपुर्ति गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस