तेमाल–६ का सबै विद्यार्थीलाई न्यानो पोशाक र स्टेस्नरी सहयोग

नौलो समाचार संवाददाता
२०८० माघ १५, सोमबार मा प्रकाशित २८७ पटक पढिएको
तेमाल–६ का सबै विद्यार्थीलाई न्यानो पोशाक र स्टेस्नरी सहयोग

ठुलोपर्सेल/ तेमाल गाउँपालिका वडा नं ६ का सबै विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी सहयोग गरिएको छ ।

विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा सो वडाको ६ विद्यालयमा अध्ययनरत ३ सय ५० बालबालिकालाई ट्रयाक सुट, स्वेटर, कापी, कलम, सिसाकलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

वडामा रहेको पञ्चकन्या माध्यमिक विद्यालय, महांकाल आधारभूत विद्यालय, बुद्ध कोल्तोङ प्राथमिक विद्यालय, निर्मला प्राथमिक विद्यालय, सुनकन्या प्राथमिक विद्यालय र कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको लागि ट्रयाक सुट, स्वेटर, आधा दर्जन कापी, १/१ दर्जन कलम, सिसाकलम वितरण गरिएको हो ।

ट्रयाक सुटका लागि स्थानीय समाजसेवी मुक्ते लामा, रमेश तामाङ, राजकुमार तामाङ, कान्छा आलेमगर, सलिना लामा, ताइ तामाङ, विकेश लामा, मानकाजी लामा, सुर्यमान तामाङ, विकुलाल तामाङ र मानकाजी तामाङले सहयोग गरेका थिए ।

कान्छी माया तामाङ फाउण्डेशनले सबै बालबालिकालाई स्वेटर सहयोग गरेको थियो ।

साल्मा एच.आर ग्रुपका प्रबन्ध निर्देशक रामध्वज (आर.डी) लामाले ३ सय ५० जना नै विद्यार्थीलाई १/१ दर्जन कलम, सिसाकलम र सोसाइटी फर हर एजुकेसनका संस्थापक स्मिता मोक्तान तामाङले सबै विद्यार्थीलाई आधा दर्जन कापी प्रदान गरेको सहयोग जुटाउन समन्वय गरेका स्थानीय समाजसेवी रमेश तामाङले जानकारी दिए ।

बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले विद्यार्थी र विद्यालयका प्रधानाध्यापकलाई ती सामाग्री हस्तान्तरण गर्दै यस्ता सहयोगले विद्यार्थीहरुलाई पढ्नको लागि हौसला मिल्ने बताए । उनले बालबालिकाको शिक्षाको लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने बताए । सहयोगी सबै संघसस्था र व्यक्तिलाई मन्त्री लामाले आभार प्रकट गरे ।

कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, गाउँपालिका पूर्वअध्यक्ष सलामसिं लामा, वडा नं ६ का वडा अध्यक्ष प्रेम लामा, शान्ती जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, सुनिल लामा, कान्छीमाया तामाङ फाउण्डेशनका प्रतिनिधी सजय तामाङ, सोसाइटी फर हर एजुकेसनका संस्थापक स्मिता मोक्तान तामाङ, साल्मा एच.आर ग्रुपका प्रबन्ध निर्देशक रामध्वज (आर.डी) लामा, पञ्चकन्या माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकुलाल तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष शैलेन्द्र तामाङ, प्रधानाध्यापक टंकमान लामा, शिक्षक रमेशप्रसाद त्रिपाठी, बाल क्लवका अध्यक्ष सनोज थापामगर लगायतले सहयोगप्रति आभार प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस