एकैदिन ठूलोपर्सेलका २ खानेपानी आयोजना शिलान्यास

नौलो समाचार संवाददाता
२०८० माघ १६, मंगलबार मा प्रकाशित १८३ पटक पढिएको
एकैदिन ठूलोपर्सेलका २ खानेपानी आयोजना शिलान्यास

तेमाल \ तेमाल गाउँपालिका वडा नं ६ ठूलोपर्सेलमा एकै दिन २ खानेपानी आयोजना शिलान्यास गरिएको छ ।

बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालबाट विनियोजित रकमबाट निर्माण हुने खानेपानी आयोजना मन्त्री तीर्थ लामाले शिलान्यास गरेका हुन् ।

वडा नं ६ स्थित सिंगटी लिफ्ट खानेपानी आयोजना मन्त्री लामाले शिलान्यास गरे । एक घर एक धारा अभियान अन्तर्गत उक्त आयोजनाबाट १ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अञ्जन तामाङले जानकारी दिए । उनका अनुसार, सिंगटीमा पानी संकलन टंयाकी निर्माण गरेर त्यहाँबाट १ किलोमिटर माथि तानेर सबै घरधुरीलाई वितरण गर्ने तयारी छ । ५० लाख विनियोजित उक्त योजनामा जेठ मसान्तसम्म सक्ने तयारी गरेको तामाङले जानकारी दिए ।

वडा नं ६ मा नै रहेको ठूलो पँधेरो ढुङ्गेधारा खानेपानी आयोजना पनि मन्त्री लामाले शिलान्यास गरे । २० लाख रकम विनियोजित आयोजनाको लागि बजेट अपुग भए थप्ने प्रतिवद्धता पनि मन्त्री लामाले गरेका छन् ।

तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले चालू आर्थिक वर्षमा मात्रै ७ वटा खानेपानी र २ वटा सिंचाइको आयोजनाको लागि मन्त्री लामामार्फत बजेट विनियोजन भएको बताए । मन्त्री लामामार्फत तेमालमा करिब १५ करोड बराबरका विभिन्न आयोजनाको लागि बजेट बिनियोजन भएको उनले जानकारी दिए ।

मन्त्री लामाले विकासमा राजनीतिक दल नभनिकन एकजुट हुनुपर्ने बताए । उनले आफू बाग्मती प्रदेश सरकारमा भएपछि जिल्लाको विकासको लागि बजेट विनियोजन गरेको भन्दै समयमा नै आयोजना सम्पन्न गरेर लाभ लिन अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस