पोखरीनारायणस्थानमा छोइतेन गुम्बा निर्माण थालियो

नौलो समाचार संवाददाता
२०८० माघ १७, बुधबार मा प्रकाशित २५६ पटक पढिएको
पोखरीनारायणस्थानमा छोइतेन गुम्बा निर्माण थालियो

तेमाल \ बौद्ध धर्मावलम्बीको पवित्रस्थल तेमाल गाउँपालिका वडा नं ५, पोखरीनारायणस्थानमा छोइतेन नामसुङ छोइलिङ गुम्बा निर्माण थालिएको छ ।

बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक बर्षको लागि बिनियोजित २५ लाख रकमबाट गुम्बा निर्माण थालिएको हो ।
गुम्बा निर्माणको लागि कुल १ करोड ७२ लाख १३ हजार ३ सय ९६ रुपैयाँ लागत अनुमान गरिएको उपभोक्ता समितिका सचिव खाम्साङ लामाले जानकारी दिए ।

गुम्बा निर्माण शिलान्यास गर्दै बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले समयमा नै निर्माण सम्पन्न गर्न अनुरोध गर्दै अपुग पैसा विनियोजन गर्न आफूले नेतृत्व लिने बताए ।

उनले धार्मिक रुपमा महत्व बोकेको ऐतिहासिक क्षेत्रमा निर्माण गरिएको गुम्बाले सस्कृति संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

सोही स्थानमा बौद्ध धर्मावलम्बीको पवित्रस्थल बौद्ध, नमोबुद्ध र स्वयम्भुको चैत्य पनि एकै स्थानमा निर्माण गरिएकोले गुम्बाको आवस्यकता महशुस भएको उपभोक्ता समितिले जनाएको छ ।

कार्तिक पूर्णिमा, चैत्र पूर्णिमामा सो स्थानमा मेला लाग्ने गरेको छ ।

शिलान्यास कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, वडाअध्यक्षहरु लगायतको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस