`अमुक व्यक्ति´का कारण पनौती नगरसभामा सधै विवाद

संगठन तथा व्यवस्थापन सर्वेक्षणका बिषयमा विवाद हुँदा नगर सभा स्थगित
नौलो समाचार संवाददाता
२०८० माघ १८, बिहिबार मा प्रकाशित १८८९ पटक पढिएको
`अमुक व्यक्ति´का कारण पनौती नगरसभामा सधै विवाद

पनौती / नगरपालिकामा  `एक अमुक व्यक्ति´को बिषयलाई उपप्रमुख र उनी निकट जनप्रतिनिधीले प्रतिष्ठाको बिषय बनाएपछि पनौती नगर सभा सधै विवादित बन्ने गरेको छ ।

नगर कार्यपालिकाले पारित गरिसकेको पनौती नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) मा वरिष्ठ प्रशासकीय अधिकृतको पद समावेश नभएपछि एमालेबाट निर्वाचित उपपप्रमुख र जनप्रतिनिधीले त्यसलाई प्रतिष्ठाको बिषय बनाएका हुन् ।

एमालेले प्रदेश कानून विपरित बरिष्ठ प्रशासकीय अधिकृतको पद कायम नै राख्नुपर्छ भन्ने अडान राखेको छ भने नगर प्रमुख र अन्य जनप्रतिनिधिले भने प्रदेश कानून प्रतिकुल नहुने गरी विज्ञ समूहले दिएको प्रतिवेदन अनुसारको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा समावेश भएको संगठन संरचना (दरबन्दी तेरिज) लागू हुनुपर्ने बताउँदै आएको छ ।

बिहिबारको नगर सभा बैठकमा सोही विषयले तनाव हुने देखिएपछि बैठक शुरु भएलगत्तै नगर प्रमुख रामशरण भण्डारीले बैठक स्थगित गरेका थिए । एमाले निकट नगर सभा सदस्यले विज्ञहरुको सुझाव भन्दा नगरको सुशासन समितिले गरेको प्रस्ताव अनुसार हुनुपर्ने अडान राख्दै बैठक नै चल्न नदिने तयारी गरेपछि नगर प्रमुख भण्डारीले बैठक स्थगित गरेका थिए ।

सुशासन समितिले तयार गरेको दरवन्दी तेरिज प्रदेश कानून विपरित छ । कानून विपरित कर्मचारी नियुक्ति, सरुवा लगायतका अधिकार कार्यापालिकालाई प्रस्ताव गरिएको छ । वडाले नै कर्मचारी नियुक्ति गर्न पाउने कानुन बिपरित प्रस्ताव नगरपालिकाको शुशासन समितीले गरेको छ ।

महालेखा परिक्षकको कार्यालयले पनि करारका कर्मचारीका कारण नगरपालिकामा व्ययभार भएको भन्दै बेरुजु औल्याएपछि पनौतीले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मार्फत कर्मचारी व्यवस्थापन गर्न लाग्दा पार्टी निकट पुराना कर्मचारी हट्ने लगायतका कारण एमाले तर्सिएर नगर सभा नै बहिष्कार गर्दै आएको कांग्रेस निकट एक जनप्रतिनिधिले जानकारी दिए ।

नगर प्रमुख रामशरण भण्डारीले महालेखा परिक्षकले समेत औल्याएको बिषयमा व्यवस्थापन गर्न खोज्दा सधै विवाद जस्तो देखिएको बताए । ‘हामीले कर्मचारी व्यवस्थापन, दरबन्दी सिर्जना गर्दै सेवा प्रवाह व्यवस्थित गर्न लागेका हौं, तर एक थरी साथीहरु हाम्रा मान्छे हटाउने, नगर प्रमुखले आफ्ना मान्छे नियुक्ति गर्ने बुझेर अप्ठ्यारो सिर्जना गर्न लाग्नुभयो,’ नगर प्रमुख भण्डारीले भने, ‘सरकार भनेको निरन्तर जाने कुरा हो, हामीले विधी बनाउन खोजेका हौं, भोली हामी नेतृत्वमा नहुन सक्छौं, उहाँहरु हुन सक्नुहुन्छ, हामीले एउटा प्रणाली विकास गर्न खोजेका हौं ।’

नगर उपप्रमुख गिता वञ्जाराले के कारणले नगरसभा स्थगित भयो भन्ने आफूलाई जानकारी नभएको बताइन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) पारित गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै एक्कासी स्थगित हुँदा अचम्मित भएको बताइन् । ‘कूनै एक व्यक्तिको पक्षमा राखेर हामीले विवाद गर्दैनौ, गरेका छैनौं,’ उनले भनिन्, ‘कार्यपालिकाले गरेको निर्णय पास गर्न तयार छौं, दरबन्दी तेरिज फेरिएको बारे मलाई जानकारी छैन ।’

संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) को बिषय नगर सभामा प्रवेश गर्ने कार्यसूची भएपछि अघिल्लो नगर सभा पनि स्थगित भएको थियो । उक्त प्रस्ताव फिर्ता भएपछि मात्रै नगर सभा सञ्चालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस