पनौतीका नगर प्रमुख भण्डारीले खुलाए नगरसभा बैठक स्थगित हुनुको कारण (भिडियोसहित)

विज्ञको प्रतिवेदन, शुसासन समितिले प्रमुख प्रशासकीय अधिकृतलाई दिएको अधिकारकै आधारमा तयार गरेको पदनाम तहसहितको दरबन्दी तेरिजलाई एमाले निकट जनप्रतिनिधीले नगर प्रमुखको प्रस्ताव भन्दै विवादित बनाउन प्रयास गर्दै आएका छन् ।
नौलो समाचार संवाददाता
२०८० माघ १९, शुक्रबार मा प्रकाशित ४६७ पटक पढिएको
पनौतीका नगर प्रमुख भण्डारीले खुलाए नगरसभा बैठक स्थगित हुनुको कारण (भिडियोसहित)

पनौती \ पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगर सभाको १४ औं अधिवेशनको बैठक स्थगित हुनुका विभिन्न कारण उल्लेख गर्दै एमालेका कारण स्थगित गर्नुपरेको स्पष्ट गरेका छन् ।

शुक्रवार भिडियो सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नगर प्रमुख भण्डारीले एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधीले कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M) का बिषयमा अवरोध ल्याउने प्रयास गरेकाले आफूले बाध्य भएर बैठक स्थगित गर्नुपरेको बताए ।

उनका अनुसार, २०८० असार १० मा भएको वजेट अधिवेशनमा पनि कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षणको बिषयलाई लिएर बहिष्कार गरेपछि वजेट पास नभए नगरवासीहरुको विकास निर्माण कार्य समेत अवरुद्ध हुने हँुदा आगामी अधिवेशनबाट पास गर्ने सहमतिमा उक्त प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो ।

२०८० माघ १८ गते पनौती नगरपालिकाको नगर सभाको १४ औं अधिवेशन (O & M) सहित थुप्रै ऐन बनाउने देखि विकास निर्माण संग सम्बन्धित एजेण्डाहरु कार्यसूचीमा थिए । ११ बजेको लागि बोलाइएको बैठक उपप्रमुख गिता बञ्जारा र उनी सम्बद्ध सभासद्हरु उपस्थित नभएपछि समयमा शुरु नभइ ढिला भएको थियो ।

पनौती नगरपालिकामा हरेक वर्ष महालेखा परिक्षकको कार्यालयले (O & M) नगरी पुनर्संरचना हुनु पूर्वका, समायोजित भएका प्रशासनिक, प्राविधिक अन्य कर्मचारीहरुलाई तवल खुवाउन नपाउने भनी बेरुजु उल्लेख गरिरहेको छ । सोही कारण नगर प्रमुख भण्डारीले (O & M) गरेर कर्मचारी व्यवस्थापन गर्न चाहेका थिए तर एमाले निकट जनप्रतिनिधीले त्यो मानिरहेका थिएनन् । ‘हाम्रा मान्छे फाल्ने र रिक्त पदमा कांग्रेसले आफ्ना मात्रै मान्छे भर्ना गर्छ’ भन्ने सोचका कारण यसलाई अघि बढाउन दिएका थिएनन् ।

२०७९ माघ २५ गते ९इ७ः० सर्वेक्षण निर्माण समिति प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा गठन गरिएको थियो । नगरपालिकाले छनोट गरी सेवा खरिद गरेको विज्ञ टोलीले सर्वेक्षण सम्बन्धमा २०८० जेठ २ गते कार्यपालिकाका सदस्य र कर्मचारीहरु राखी अभिमुखीकरण समेत गरेको थियो । २०८० असार ३ गते सर्वेक्षण निर्माण गर्ने टोली र कार्यपालिकाका सदस्यहरुवीच छलफल भएको थियो । २०८० असार ४ गते निर्माण समितिले प्रतिवेदन बुझाउने निर्णय गर्यो । २०८० असार ७ गते निर्माण समितिल अन्तिम प्रतिवेदन बुझाएको थियो ।

२०८० माघ ९ गते बसेको कार्यपालिकाले उक्त प्रतिवेदन माघ १८ गते बस्ने नगरसभाको १४ औं अधिवेशनको कार्यसूचीमा राख्ने निर्णय गरेको थियो । २०८० माघ १७ मा सार्वजनिक सेवा क्षमता विकास तथा सुशासन समितिले कार्यपालिकामा पुनः लैजाने निर्णय गरेको थियो । सोही समितिले सांगठनिक चार्ट र पदनाम तह मिलाउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिने निर्णय गरेको छ । समितिकै निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृतले सांगठनिक चार्ट तयार गरी नगर सभामा लैजाने गरी तयार गरेका थिए ।

२०८० माघ १७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक सेवा क्षमता विकास तथा सुशासन समितिले पेस गरेको (O & M) पास गरी नगर सभामा लगी अनुमोदन गर्ने निर्णय पनि गर्यो तर २०८० माघ १७ गते सार्वजनिक सेवा क्षमता विकास तथा सुशासन समितिका संयोजक दिपकप्रसाद दाहालले पुन अर्को नगरपालिका भन्दा बाहिर बनेको खाका ल्याए ।

समितिको निर्णयको खिलाबमा आएको उक्त खाका अमुक स्वार्थी समुहपरक, प्रचलित ऐन नियम कानुन विपरित, भइरहेका कर्मचारीहरुको रोजी रोटी खोस्ने खालको भएको प्रमुख भण्डारीको ठम्याइ छ । ‘पहिले नै सहमति भएको विषयमा बहुमतको आडमा पुनः बखेडा झिक्ने उद्देश्यले ल्याइको सो खाका सुशासन समितिको संयोजकको मात्र हस्ताक्षरबाट ल्याइएकोले छलफल पनि गर्न सक्ने अवस्था थिएन’ नगर प्रमुख भण्डारीले भने, ‘सोही षडयन्त्र बुझेपछि मैले बाध्य भएर नगर सभाको अध्यक्षको हैसियतले नगर सभाको १४ औं अधिबेसन केही समयका लागि स्थगन गरेंको हुँ ।’

विज्ञको प्रतिवेदन, शुसासन समितिले प्रमुख प्रशासकीय अधिकृतलाई दिएको अधिकारकै आधारमा तयार गरेको पदनाम तहसहितको दरबन्दी तेरिजलाई एमाले निकट जनप्रतिनिधीले नगर प्रमुखको प्रस्ताव भन्दै विवादित बनाउन प्रयास गर्दै आएका छन् ।

नगर प्रमुख भण्डारीले कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M) को विषयमा आफू कटिबद्ध भएको र स्थानीय निर्वाचनमा प्रतिवद्धता जाहेर गरे अनुसार नै पनौती नगरलाई सुशासन दिलाएरै छाड्ने प्रण गरेका छन् । भ्रष्ट्राचार मुक्त समाज र चुस्त कर्मचारी प्रशासन बनाउने अभियान प्रति सदैव अन्तिम अस्थासम्म लड्ने वक्तव्यमार्फत प्रतिवद्धता जनाएका छन् ।

एमालेका तर्फबाट निर्वाचित उपप्रमुख गिता बञ्जारा लगायतका जनप्रतिनिधीले भने नगर सभाको बैठक एक्कासी स्थगित भएकोमा विज्ञप्तिमार्फत दुख व्यक्त गरेका छन् ।

भिडियोको लिंक : https://fb.watch/pYPQlIFrqt/


प्रतिक्रिया दिनुहोस