फाल्गुन ४ गतेदेखि बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´

नौलो समाचार संवाददाता
२०८० माघ २३, मंगलबार मा प्रकाशित २६९ पटक पढिएको
फाल्गुन ४ गतेदेखि बनेपामा `बृहत काभ्रेपलान्चोक कृषि महोत्सव´

बनेपा / फाल्गनु ४ देखि ३ दिनसम्म बनेपामा ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव’ हुने भएको हो ।

जिल्ला समन्वय समिति काभ्रेको संयोजन, कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक समन्वय, काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा बनेपास्थित करुणामार्गमा फाल्गुन ४ गतेदेखि ७ गतेसम्म महोत्सव हुन लागेको हो ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ गर्न लागिएको मुल समारोह समितिका संयोजक रहेका जिल्ला  समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गर्नुको साथै कृषि पेशामा लाग्नका लागि नागरिकहरुलाई उत्प्रेरित गर्ने उनले जानकारी दिए ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायतका स्थानीय कृषि उपज तथा उत्पादनहरु समावेश गरिने ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले बताए । दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारहरु समेत समावेश गर्न सकिने बताए ।

उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामाग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु स्टलको रुपमा राख्ने तयारी आयोजकहरुको छ ।

महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरुका रैथाने प्रविधिहरुको प्रर्दशन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरुको विक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवका लागि करिब १ करोड १५ लाख रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस