सहकारी क्षेत्रको अवस्था सुधार्न धुलिखेलमा चिन्ता

नौलो समाचार संवाददाता
२०८० माघ २५, बिहिबार मा प्रकाशित १८७ पटक पढिएको
सहकारी क्षेत्रको अवस्था सुधार्न धुलिखेलमा चिन्ता

धुलिखेल \ पछिल्लो समय समस्या देखिदै गएको सहकारी क्षेत्रको समाधान र अवस्था सुधार्न धुलिखेलमा चासो र चिन्ता व्यक्त गरिएको छ ।

जिल्ला सहकारी संघ काभ्रेको आयोजना, राष्ट्रिय सहकारी महासंघको प्रवद्र्धन र कोअपरेटिभ मेनेजर्स क्लवको व्यवथापनमा धुलिखेलमा जारी सहकारी अर्थव्यवस्था गोष्ठीमा सो क्षेत्रका विज्ञ, अभियन्ता, सहकारी सञ्चालक र व्यवस्थापकले यसबारे चासो र चिन्ता प्रकट गरेका हुन् ।

गोष्ठीको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले केही सहकारीका कारण सहकारी क्षेत्रमा नै समस्या रहेको देखिएको भन्दै त्यो समस्याबाट उम्कन जरुरी भएको तर्क गरे । उनले बाग्मती प्रदेशमा रहेको समस्याग्रस्त सहकारी अध्ययनको लागि समिति गठन गरेको जानकारी दिए । उनले गोष्ठीको निष्कर्ष र सिकाइ सहकारी क्षेत्रमा व्याप्त समस्या समाधानका लागि मार्गदर्शन गर्न सक्ने होस् भन्ने कामना गरे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको नाममा बोर्ड राखेर नीजि काम गर्ने केही सहकारीको कारण लाखौं लाख सहकारीकर्मी समस्यामा परेको तर्क गरिन् । गलत काम गर्ने सहकारीलाई कार्वाही गर्न महासंघले सघाउने जनाउ“दै उनले सहकारी क्षेत्र टिकाउनको लागि सहकारीका सदस्यलाई नै विश्वास दिलाउन सक्नुपर्ने बताइन् । लाखौं जनता प्रभावित भएको सहकारी क्षेत्रको मुद्धा राजनीतिक दलले उठाउनुपर्ने भन्दै उनले राजनीतिक दललाई बुझाउन नसकिएको वा दलले बुझ्नै नचाहेको तर्क गरिन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दीलिप शर्मा, उपाध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव निरञ्जन विष्ट, प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठलगायतले सहकारी क्षेत्रमा देखिएको संकट समाधानको लागि सबै क्षेत्रको उत्तिकै भूमिका रहेको तर्क गरे ।

‘सुरक्षित भविष्यको निमार्णः सहकारी अर्थ प्रणालीको प्रवद्र्धन’ भन्ने बिषयबस्तुमा केन्द्रीत रहेर गोष्ठीमा ६ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

गोष्ठीको पहिलो दिन ‘सहकारीको योगदान, समस्या, चुनौती र अवसरहरु’ विषयमा संघीय सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले प्रस्तुतीकरण गरेका छन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सहकारीमा अबकको रणनैतिक बाटो (उत्पादन, बजार र बजारीकरण)’ विषयमा प्रस्तुतीकरण गरेका छन् । पहिलो दिन नै नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले ‘सहकारी क्षेत्रका नीतिगत र कानुनी व्यवस्था, अब गर्नुपर्ने सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दोस्रो दिन सहकारीमा नेतृत्व विकासबारे सञ्चारकर्मी रुपेश श्रेष्ठ, वित्तीय व्यवस्थापन (ऋण लगानी, असूली, ऋण व्यवस्थापन, तरलता व्यवस्थापन) का बारे राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृत प्रमुख बद्री गुरागाईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सहकारीका असल अभ्यासबारे जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देहीका व्यवस्थापक रणबहादुर थापा र नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेतीले अनुभव सुनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस