अब खुर्कोटमा पनि सवारी अनुमतिपत्र (लाइसेन्स) परिक्षा

नौलो समाचार संवाददाता
२०८० माघ २६, शुक्रबार मा प्रकाशित ३४९ पटक पढिएको
अब खुर्कोटमा पनि सवारी अनुमतिपत्र (लाइसेन्स) परिक्षा

खुर्कोट \  यातायात ब्यवस्था कार्यालय, खुर्कोटमा दुई पांग्रे र चार पांग्रे सवारी साधनको अनुमतिपत्र (लाइसेन्स) परिक्षा हुने भएको छ ।

गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा ट्रायल सेन्टर खुलेपछि सो कार्यालयबाटै लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षा शुरु भएको हो ।

२०७९ जेठमा स्थापना भएको यातायात ब्यवस्था कार्यालय खुर्कोटमा प्रयोगात्मक परीक्षा (ट्रायल) को ब्यवस्था थिएन । माघ २६ गते शुक्रबारबाटै प्रयोगात्मक परीक्षा समेत शुरु भएको छ । कार्यालयले सिन्धुली, रामेछाप, ओलखढुंगा सहित आसपासका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्छ ।

सेवा शुभारम्भ गर्दै बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल सेन्टर सञ्चालकलाई निर्देशन दिए । ‘आफ्नो ईमान र इज्जतमा कुनै किसिमको आरोप र आपेक्ष लाग्ने गरी काम नगर्नु होला, काँही कतै समस्या नहुने गरी, कुनै पनि तहबाट गुनासो नआउने गरी काम गर्नु होला,’ मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले यातायात ब्यवस्था कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह समेत गरे ।

मन्त्रालयका सचिब बलराम निरौलाले ट्रायल सेन्टर सञ्चालनमा आएसँगै यस भेग सेवाग्राहीले थप सुविधा प्राप्त गरेको भन्दै यसलाई विश्वासनिय बनाउन अनुरोध गरे ।

यातायात ब्यवस्था कार्यालय खुर्कोटका प्रमुख शिव कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा गोलञ्जोर गाउँपालिकाका प्रमुख शंकर राज बराल, उपप्रमुख ज्वाला प्रसाद न्यौपाने, विभिन्न यातायात ब्यवस्था कार्यालयका प्रमुख लगायतको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस