भुम्लुको चालिसेटारमा बन्यो मोटरेबल पुल, मन्त्री लामाले गरे उद्धघाटन

नौलो समाचार संवाददाता
२०८० माघ २८, आईतबार मा प्रकाशित १४२६ पटक पढिएको
भुम्लुको चालिसेटारमा बन्यो मोटरेबल पुल, मन्त्री लामाले गरे उद्धघाटन

चालिसे \  भुम्लु गाउँपालिका वडा नं ९, चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।

गाउँपालिकाको ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल सोमबार एक कार्यक्रमका विच बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले उद्धघाटन गरेका हुन् ।

सो स्थानमा पुल नहुँदा स्थानीयले बर्षामा सास्ती खेप्दै आएका थिए ।

बर्षाको समयमा तरकारी बोकेर कृषक, विद्यालय जाने बालबालिका र स्थानीय ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्य थिए । ‘घाँस लिन जाँदा पानी परेको हुदैनथ्यो, आउँदा बर्षाले खोलो बढेर तर्न नसकेपछि खोलाकै अर्काे छेउ हिँडेर २–३ घण्टा लगाएर घर पुग्नुपर्ने बाध्यता थियो,’ स्थानीय अष्टमाया लामाले भनिन्, ‘गाडी नै चल्ने पुल तयार भएपछि निकै खुशी लागेको छ ।’

पूर्व जनप्रतिनिधी रहेका स्थानीय गोविन्द पराजुलीले बाढीका कारण सडक वारी नै बास बस्नुपरेका कयन घटना रहेको स्मरण गरे ।

भुम्लु वडा नं ९ का वडाअध्यक्ष दलबहादुर तामाङले २०४५ सालदेखिको पुल बनाउने सपना पुरा भएको भन्दै यसअघि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको सुनाए ।

स्थानीयले सुनाए खानेपानी र सिंचाईको समस्या
पुल उद्धघाटनमा पुगेका मन्त्री तीर्थ लामालाई स्थानीयले खानेपानी र सिंचाईको समस्या भएकाले समाधान गरिदिन आग्रह गरे ।

स्थानीय समाजसेवी रहेका पूर्व जनप्रतिनिधी गोविन्द पराजुलीले ज्याम्दीलाई सुख्खाग्रस्त घोषणा गरेर खानेपानी र सिंचाइको काम गर्न अनुरोध गरे । लिफ्टमा आधारित सिंचाई भरपर्दो पनि नहुने र महंगो पनि भएको भन्दै उनले विद्युत महशुल मिनाहा वा सहुलियतको निर्णय गर्न अनुरोध गरे ।

भुम्लु गाउँपालिकाका कार्यपालिका सदस्य शान्ती ठकुरीले गाउँमा सञ्चालित १० देखि १२ वटा लिफ्टिङ तथा खानेपानी आयोजनामा विद्युतीय मोटरको समस्या भएको भन्दै सो समस्या समाधानको लागि अनुरोध गरिन् ।

स्थानीय इन्द्रावती –कोलाजोर लिफ्टिङ खानेपानी आयोजनाका भरतप्रसाद पराजुलीले २५ करोडको डिपिआर तयार भएर प्रदेशबाट १ करोड ५० लाख विनियोजन भएको खानेपानी आयोजनामा ४ करोडको काम भएर भुक्तानी दिन नसक्दा अलपत्र भएको भन्दै त्यसलाई पुरा गर्न मन्त्री लामाको ध्यानाकर्षण गराए ।

जवाफमा खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले ज्याम्दीका सबै स्थानको खानेपानी र सिंचाई समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको जनाए । उनले ती सबै योजना आगामी आर्थिक बर्षको बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले तरकारी खेतीको लागि सिंचाई आवस्यक भएको भन्दै त्यसका लागि भुम्लुभर १ हजार पोखरीको अवधारणा ल्याएको र त्यसको सुरुवात ज्याम्दीबाट गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले भुम्लु गाउँपालिकाका विभिन्न वडामा करिब १४ करोड ५० लाखका योजना लामा नेतृत्वको मन्त्रालयबाट विनियोजन भएको भन्दै आगामी दिनमा अझै नजिकबाट नियाल्न अनुरोध गरे ।

कार्यक्रममा भुम्लु गाउँपालिका वडा नं ५ का अध्यक्ष अञ्चलकुमार मोक्तान, पाँचखाल नगरपालिका वडा नं ४ का अध्यक्ष सुन्दर लामा लगायतले मन्त्री लामामार्फत काभ्रेका धेरै विकास निर्माणको लागि बजेट बिनियोजन भएको भन्दै त्यसले निरन्तरता पाउने बताए ।


प्रतिक्रिया दिनुहोस