सल्ले भुम्लुमा सिंचाई कूलो पक्की भएपछि स्थानीय खुशी, मन्त्री लामाको प्रशंसा

भुम्लुमा मात्रै  खानेपानी तथा सिंचाईको लागि १४ करोड ५० लाख बराबरका योजना
नौलो समाचार संवाददाता
२०८० माघ २९, सोमबार मा प्रकाशित १९६९ पटक पढिएको
सल्ले भुम्लुमा सिंचाई कूलो पक्की भएपछि स्थानीय खुशी, मन्त्री लामाको प्रशंसा

भुम्लु÷ भुम्लु गाउँपालिका वडा नं ५, साविक सल्लेभुम्लुका कृष्णवीर लामा २०४१ सालमा घट्टेखोलाबाट मुलाबारीसम्म सिंचाइ कुलो बनाउँदा प्रधानपञ्च थिए । तत्कालिन समयमा विश्व श्रम संगठन (आइएलओ) लगातयका निकायबाट ३ लाख सहयोग पाएर स्थानीय जनश्रमदानसहित कुलो बनाउँदा गरिएका मिहनेत अझै पनि उनलाई स्मरण छ । ‘त्यति बेलाको ३ लाख भनेको ठूलो पैसा थियो, त्यो बेला पहरा फुटाउन ब्लाष्टिङ समेत गरेर सिंचाईको प्रवन्ध गरिएको थियो,’ कृष्णविर ती दिन सम्झन्छन्, ‘कच्ची कुलो विस्तारै पुरिदै, चुहिदै गयो, परसम्म पानी पुग्नै छोड्यो, किसानलाई निकै मर्का थियो ।’

तीनै कृष्णविर अहिले प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित ९० लाख रकमको घट्टेखोला–मुलाबारी सिंचाई उपभोक्ता समितिका अध्यक्ष छन् । ८१ बर्षको उमेरमा पनि युवा जोश जाँगरका साथ उनी योजना सम्पन्न गराउन लागिपरेका छन् । लामाले सिंचाई आयोजना दीर्घकालिन बनाउनको लागि घट्टेखोला क्षेत्रमा बाँध बाध्नको लागि मन्त्री लामालाई प्रस्ताव समेत गरे ।

आयोजना सम्पन्न भएपछि थुम्की, अर्चले, घट्टेखोला, देवलडाँडा, मुलाबारी फाँटका करिब २ हजार भन्दा बढी घरधुरीका किसान लाभान्वित हुनेछन् ।

२०४१ सालमा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेका रामजी श्रेष्ठ सिंचाई कुलोको लागि धेरै मिहेनत गरेको स्मरण गर्दै अब पक्की हुने विश्वास व्यक्त गर्दछन् । ‘यो सिंचाई कुलोको लागि धेरै मिहनेत गरियो, अस्थायी भएका कारण धेरै समस्या आयो,’ उनले भने, ‘अब पक्की नालासहित निर्माण भएको छ, अब यसको लागि धेरै दुख गर्नु नपर्ला, अब पक्की भयो, मन्त्रीज्यूलाई यसको लागि आभार प्रकट गर्छु ।’

वडा नं ५ मा नै बोसेखोला–ताइखेत सिंचाई योजना सञ्चालन गरिएको छ । ६ सय २५ मिटर पक्की नाला निर्माण गरेर ल्याइएको सिंचाई आयोजनाबाट यहाँका नारघाङ लगायतका फाँटमा सिंचाई हुनेछ । करिब १ सय ५० परिवार यसबाट लाभान्वित हुनेछन् ।

भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दाबा) का अनुसार, खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामामार्फत भुम्लुका सबै वडामा गरी १४ करोड ५० लाख बराबरको खानेपानी तथा सिंचाइका आयोजना कार्यान्वयनमा छन् । उनले बजेटको आकार र कानूनी अड्चनका कारण भुम्लुका सबै योजना समावेश हुन नसकेको भन्दै आगामी दिनमा सम्बोधन हुने अपेक्षा गरे ।

वडा नं ५ का अध्यक्ष अञ्चलकुमार मोक्तानले भुम्लु गाउँपालिका चालु आर्थिक बर्षका योजनामा पनि प्राथमिकतामा परेको भन्दै छुटेका  केही योजना आगामी आर्थिक बर्षमा समावेश गरिदिन अनुरोध गरे ।

जवाफमा खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले बाँकी योजना आगामी आर्थिक बर्षको बजेटमा समावेश गराउने प्रतिवद्धता जनाए । उनले चालु आर्थिक बर्षमा विनियोजन भएका योजनामा बजेट अपुग भए त्यसको पनि व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । काभ्रेको खानेपानी तथा सिंचाईका अधिकाशं योजनामा बजेट बिनियोजन गराएका मन्त्री लामाले ती आयोजनाको निरिक्षण पछि कामको गुणस्तर, लाभान्वित कृषकको प्रतिकृयाले आफूलाई सन्तुष्टी मिलेको बताए ।


प्रतिक्रिया दिनुहोस