रोशी गाउँ सभाको चौधौं अधिवेशन : वित्तिय खर्च प्रगति ३५ दशमलव ७ प्रतिशत

नौलो समाचार संवाददाता
२०८० माघ २९, सोमबार मा प्रकाशित ११७४ पटक पढिएको
रोशी गाउँ सभाको चौधौं अधिवेशन : वित्तिय खर्च प्रगति ३५ दशमलव ७ प्रतिशत

रोशी /  रोशी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्मको अवधीमा ३५ दशमलव ७ प्रतिशत वित्तिय खर्च प्रगति हासिल गरेको छ ।

रोशी गाउँ सभाको चौधौं अधिवेशनमा प्रवक्ता बसन्तकुमार तामाङले प्रस्तुत गरेको अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तावमा उल्लेख भए अनुसार, चालु आर्थिक बर्षमा ७४ करोड २७ लाख ६० हजार आय र सोही अनुसार व्यय गर्ने अनुमान रहेकोमा हालसम्म ३५ करोड ५३ लाख ३६ हजार ३ सय १३ रुपैयाँ आम्दानी र २६ करोड ६९ लाख ७५ हजार ६७ रुपैयाँ खर्च भएको छ ।

१९ करोड ८८ लाख २६ हजार २ सय २५ चालुतर्फ र पुँजीगततर्फ ६ करोड ८१ लाख ४८ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

क्षेत्रगत रुपमा आर्थिक विकासतर्फ १८ दशमलव १८ प्रतिशत, सामाजिक विकासतर्फ ३७ दशमलव ७४ प्रतिशत, पूर्वाधार विकासतर्फ २८ दशमलव १२ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापनतर्फ ३३ दशमलव ३३ प्रतिशत र संस्थागत विकास सुशासनतर्फ २५ दशमलव ५९ प्रतिशत खर्च प्रगति भएको प्रवक्ता तामाङले जानकारी दिए ।

गाउँ सभाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामामा भएको १४ औं अधिवेशनमा उपाध्यक्ष मिमबहादुर वाइवाले पेश गरेको आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, न्यायिक समितिको अर्धबार्षिक प्रगति प्रतिवेदनका साथै प्रवक्ता बसन्तकुमार तामाङले प्रस्तुत गरेको अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्ताव सर्वसम्मतीले पारित भएको सभाका सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस