सर्वोच्चको फैसलालाई चुनौती दिँदै चौरीदेउराली र रोशीका २ वडामा सार्वजनिक विदा

नौलो समाचार संवाददाता
२०८० माघ २९, सोमबार मा प्रकाशित २१६ पटक पढिएको
सर्वोच्चको फैसलालाई चुनौती दिँदै चौरीदेउराली र रोशीका २ वडामा सार्वजनिक विदा

बनेपा \ सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै काभ्रेको १ स्थानीय तह र दुई वडाले फाल्गुन १ गते ‘जनयुद्ध दिवस’ मा विदा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट अध्यक्ष निर्वाचित भएका स्थानीय तह र वडामा जनयुद्ध दिवसको अवसरमा विदा दिइएको हो ।

चौरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाका वडा नं ७ र ८ ले जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिएका हुन् ।

चौरीदेउराली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गौतम, रोशी ७ मा वडाअध्यक्ष अशोककुमार गौतम र रोशी ८ मा वडाअध्यक्ष जीतबहादुर तामाङले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका र वडा अन्तर्गतका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थामा सार्वजनिक विदा दिएको उल्लेख छ ।

फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिएको भन्दै रिट परेपछि सर्वोच्च अदालतले विदा नदिन भनेको थियो ।

सर्वोच्चको फैसला पछि गृह मन्त्रालयले सार्वजनिक बिदा कायम नभएको जनाएको थियो । यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले उक्त बिदा नदिने फैसला गरेको थियो ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले अहिलेको परिवर्तन र उपलव्धीको जग जनयुद्ध भएकोले सार्वजनिक विदा दिएको तर्क गरिन् ।


प्रतिक्रिया दिनुहोस