अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलमा शुरु

नौलो समाचार संवाददाता
२०८० फागुन ३, बिहिबार मा प्रकाशित १४२ पटक पढिएको
अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलमा शुरु

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा शुरु भएको छ ।

काठमाडौं विश्वविद्यालय (केयू) को आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको मुख्य परिसरमा शुरु भएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धघाटन गरेका हुन् ।

भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति छ  । भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता रहेको केयूले जनाएको छ ।

सभामा विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।

सम्मेलनले नेपालका विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई करिब १ सय भारतीय विश्वविद्यालयका प्राध्यापकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र ती विश्वविद्यालयहरूले उपलब्ध गराएको अवसरहरू बुझ्ने अवसर प्रदान गर्ने आयोजकको दाबी छ । १ सय भारतीय विश्वविद्यालयहरूले लगभग ५ हजार शैक्षिक र व्यावसायिक कार्यक्रमहरू, आविष्कारहरू, र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्नेछन् । दुबै देशका प्राध्यापक र विद्यार्थीहरूले पारस्परिक अनुसन्धान सहयोग, प्राध्यापक र विद्यार्र्थी आदानप्रदान, ट्विनिङ कार्यक्रमहरू, संयुक्त र दोहोरो डिग्री आदिमा अन्तरक्रिया र विचार विमर्श गर्ने अवसर पाउनेछन् र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आफ्ना आविष्कारहरू र उत्कृष्ट अभ्यासहरू प्रदर्शन गर्ने अवसर पाउनेछन् ।

शिखर सम्मेलनले दुवै देशका विश्वविद्यालयबीचको सहकार्य र ज्ञान आदानप्रदानलाई बढावा दिनुका साथै भारत र नेपालबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ ।

भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्रा.डा जी डी शर्माले अध्यक्षीय सम्बोधन गरेका थिए ।

 

भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक,  भारतीय विश्वविद्यालय संघकी महासचिव पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति भोला थापा, सस्थापक उपकुलपति  सुरेशराज शर्मा, रजिस्ट्रार  अच्युत वाग्लेले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस