सरकारी विद्यालयले शुल्क लिएको भन्दै अनेरास्ववियुु काभ्रेले हाल्यो सर्वोच्च अदालतमा रिट

नौलो समाचार संवाददाता
२०८० फागुन ३, बिहिबार मा प्रकाशित १७१ पटक पढिएको
सरकारी विद्यालयले शुल्क लिएको भन्दै अनेरास्ववियुु काभ्रेले हाल्यो सर्वोच्च अदालतमा रिट

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु) काभ्रेले माध्यमिक शिक्षा निःशुल्क गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।

अनेरास्ववियुले काभ्रेका १३ वटै स्थानीय तह, विद्यार्थीसंग शुल्क लिने मण्डनदेउपुरस्थित डेडीथुम्का माध्यमिक विद्यालय (मा.वि), पाँचखालस्थित सर्वमंगला मा.वि, बनेपास्थित हिमाल मा.वि, धुलिखेलस्थित सञ्जीवनी नमुना मा.वि र ती विद्यालयका व्यवस्थापन समिति, शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

निवेदनको अन्तिम निर्णय नहुँदासम्म नेपालको संविधान एवं प्रचलित कानून विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिनु र माध्यामिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले अवश्यक व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत माग गरिएको छ ।

जिल्लाका सरकारी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीहरुसंग शुल्क लिएर निशुल्क शिक्षा पाउने संविधान प्रद्धत हक हनन गरेकाले रिट दायर गरेको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमले जानकारी दिए ।

जिल्ला भरका प्रत्येक पालिकामा समेत विद्यार्थी संख्याको १० प्रतिशत छात्रबृत्ति पाउने ब्यवस्था समेत गर्नका लागी भनी ज्ञापन पत्र बुझाउँदा समेत संविधानले प्रदत्त गरेको मौलिक हकको रुपमा रहेको विद्यार्थीको निशुल्क पढ्न पाउने संवैधानिक हक विपरितको कार्य रोक्न विपक्षीहरुले भुमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यालाई रोक लगाउन अन्य कुनै प्रभावकारी बैकल्पिक उपचारको मार्ग नभएकोले रिट दायर गरेको गौतमले जानकारी दिए ।

माध्यमिक तहसम्मको शिक्षा निशुल्क भएकोले कुनै पनि शीर्षकमा शुल्क नलिन ज्ञापन पत्र बुझाएपनि त्यो रोक्न कुनै तत्परता नभएपछि अनेरास्ववियु काभ्रेले रिट दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस