आर्थिक समृद्धि, विकास र शान्ति मुलुकको आवस्यकता : राष्ट्रपति पौडेल

नौलो समाचार संवाददाता
२०८० फागुन ४, शुक्रबार मा प्रकाशित ४३७ पटक पढिएको
आर्थिक समृद्धि, विकास र शान्ति मुलुकको आवस्यकता : राष्ट्रपति पौडेल

बनेपा । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् ।

वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याए । ‘गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु’, राष्ट्रपति पौडेलले भने ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उहाँले स्पष्ट पारे । ‘मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ’,  राष्ट्रपति पौडेलले भने ।

उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । ‘बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ’, उनले भने ।

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । ‘विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकार्डाेजस्ता ‘हाई भ्यालु फ्रुट’को विकासमा जोड दिनु पर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्धत पुग्छ’, राष्ट्रपति पौडेलले भने ।

अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारको लागि यसको उपयोग गरी सम्पूर्ण सूचनाहरू देशभरिका कृषकलाई मोबाईलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो औल्याए । विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।‘परम्परागत कृषि प्रणालीको अन्त्य गरी नविनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउबीजन र व्यावसायिकताको उच्चतम अभ्यासद्धारा औधोगिकिकरणतर्फ उन्मुख हुन अब हामीले किमार्थ ढिला गर्न हुँदैन,’ उनले भने ।


उनले विगतमा आफू पनि एउटा किसान भएको र सुन्तला कागती गोड्दा गोड्दै (कृषि कर्म गर्दागर्दै) आफू सांसद भएको स्मरण गरे । ‘कृषि नै जीवन हो, जनतालाई पाल्ने काभ्रेका उद्धमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हूँ ।’ पौडेलले आफूले कषि क्रान्तिको कुरा शुरू गर्नुअघि काभ्रेका जनताले कृषि क्रान्ति गरिसकेको बताउनुभयो । उहाँले अहिले रसायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उल्लेख गर्दै भने, ‘हामीले अर्गानिक खेतीमा जोड़ दिनुपर्छ । रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन, त्यही भएर अर्गानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’

पौडेलले राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरु चार–पाँच वटा बजार आवश्यक भएको बताए । राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभे्रका राजेन्द्र थापा, बद्रिप्रसाद ढुंगाना, रुपेश पाख्रिन र सिन्धुपाल्चोकका दिपककुमार लामिछाने, राजकुमार ढकाल र विनोद प्रदानलाई पुरस्कृत गरे ।

कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधी सभा सदस्य गोकुलप्रसाद बास्कोटा, बागमती प्रदेशका कृषि तथा पशुपन्छी बिकासमन्त्री राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम लगायतले महोत्सवले काभ्रेको कृषि क्षेत्रको विकासका लागि योगदान पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस