जिल्ला समन्वय समिति प्रमुख गौतमले थाले आमरण अनसन

नौलो समाचार संवाददाता
२०८० फागुन ११, शुक्रबार मा प्रकाशित १३० पटक पढिएको
जिल्ला समन्वय समिति प्रमुख गौतमले थाले आमरण अनसन

खावा  / समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण सक्न दबाब दिन भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले आमरण अनसन थालेका छन् ।

२०८० मंसिर २७ गते महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुन अरनिको राजमार्ग नै प्रयोग गरेर पाँचखाल आएका प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई बोलाएर तत्काल सक्न निर्देशन दिने बताएपनि काम अघि नबढेपछि प्रमुख गौतम अनसन बसेका हुन् । ‘काम गर्नको लागि एक महिना पनि पर्याप्त समय हो,’ गौतमले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्री उपस्थित कार्यक्रममा छिटो काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिदा पनि काम नभएकोले आमरण अनसन थालेको हुँ ।’ काम गर्ने प्रशस्त आधार तयार भएपछि भौतिक पूर्वाधार मन्त्रीको उपस्थितिमा निर्माण व्यवसायीले काम थाल्ने लिखित प्रतिवद्धता नगरेसम्म अनसन नतोडिने गौतमले बताए ।

२०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने गरी ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिले हालसम्म १५ प्रतिशत मात्रै काम सकेपनि कामले गति लिएको छैन ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भइ यात्रुहरु घाइते हुने र मृत्युको जोखिम समेत बढेको भन्दै यथासिघ्र निर्माण सम्पन्न गराउन भन्दै धुलिखेल ८ र पाँचखाल वडा नं ५ का जनताका प्रतिनिधीको तर्फबाट ज्ञापनपत्र बुझाइएको थियो ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं फर्किए लगत्तै निर्माण व्यवसायीलाई बोलाएर तत्काल बाटो बनाउने पहल गर्ने विश्वास दिलाएका थिए । ‘मलाई आउँदा बाटो त राम्रो नै होला भन्ने लागेको थियो, मैले मेरो सबारीचालक र सुरक्षा अधिकृतसँग पनि कुरा गरेँ, बाटो त उस्तै रहेछ,’ उनले भनेका थिए, ‘यहाँ ज्ञापनपत्र पनि दिनुभयो, यहाँबाट फर्किएलगत्तै निर्माण व्यवसायीलाई बोलाएर, उहाँहरुको समस्या छ भनेपनि समाधान गर्ने गरी तत्काल पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’

सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति दिएको छैन ।


प्रतिक्रिया दिनुहोस