काम थाल्ने लिखित सम्झौतापछि समन्वय प्रमुख गौतमले तोडे अनसन

नौलो समाचार संवाददाता
२०८० फागुन १२, शनिबार मा प्रकाशित २०६ पटक पढिएको
काम थाल्ने लिखित सम्झौतापछि समन्वय प्रमुख गौतमले तोडे अनसन

खावा /  निर्माण व्यवसायीले तत्काल निर्माण थाल्ने लिखित प्रतिवद्धता गरेपछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको आमरण अनसन तोडिएको छ ।

समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण सक्न दबाब दिन भन्दै गौतमले शुक्रवार दिउसोबाट आमरण अनशन थालेका थिए ।

गौतमसहित प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतका सुरक्षा निकाय, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख अर्जुनप्रसाद अर्याल लगायतको उपस्थितीमा निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयका प्रतिनिधीविच ५ बुँदामा सहमति भएपछि गौतमले अनसन तोडेका हुन् ।

फाल्गनु १५ भित्र कम्तीमा १ सय जना जनशक्ति, ४ वटा एक्साभेटर, ७ वटा टिपर लगायत निर्माण सामाग्री परिचालन गरी निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाउने, उक्त कार्य अघि नबढे सडक डिभिजन कार्यालय ठेक्का तोड्ने प्रकृयामा अघि बढ्ने, ठेक्का तोड्न निर्माण व्यवसायीको सहमति रहने र निर्माण व्यवसायी कुनै उजुरबाजुरमा नजाने सहमतिमा उल्लेख छ ।

चैत्र १९ गतेभित्रमा २ किमी सडक कालोपत्रे गरी बाँकी खण्डको काम पनि तत्काल शुरु गर्ने, कार्य सुचारु भएपछि गति र प्रगति सन्तोषजनक नभए ठेक्का तोड्न सडक डिभिजन कार्यालयले प्रकृया अघि बढाउने सहमतिसँगै गौतम पनि अनसन तोड्न सहमत भएका थिए ।

धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतम र पाँचखाल वडा नं ५ का अध्यक्ष सिताराम ढुंगानाको रहोबरमा सडक डिभिजन कार्यालय भक्तपुरको तर्फबाट प्रमुख मेघराज मरासिनी, इञ्जिनियर सुमन बस्नेत र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाको तर्फबाट सञ्चालक रामकुमार थापा र निर्देशक विशाल थापाले सहमतिमा हस्ताक्षर गरेका छन् ।

२०८० मंसिर २७ गते महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सहभागी हुन अरनिको राजमार्ग नै प्रयोग गरेर पाँचखाल आएका प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई बोलाएर तत्काल सक्न निर्देशन दिने बताएपनि काम अघि नबढेपछि प्रमुख गौतम अनसन बसेका थिए ।

काम गर्ने प्रशस्त आधार तयार भएपछि भौतिक पूर्वाधार मन्त्रीको उपस्थितिमा निर्माण व्यवसायीले काम थाल्ने लिखित प्रतिवद्धता नगरेसम्म अनसन नतोडिने गौतमले बताएका थिए ।

२०७२ साल जेठ २० गते सम्झौता भएर २०८० साल चैत्र १९ गते सम्पन्न गर्नुपर्ने गरी ठेक्का पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिले हालसम्म १५ प्रतिशत मात्रै काम सकेपनि कामले गति लिएको छैन ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोका साथै छिमेकी चीनसम्म जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्गको अवस्थाका कारण सवारी दुर्घटना भइ यात्रुहरु घाइते हुने र मृत्युको जोखिम समेत बढेको भन्दै यथासिघ्र निर्माण सम्पन्न गराउन भन्दै धुलिखेल ८ र पाँचखाल वडा नं ५ का जनताका प्रतिनिधीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको थियो ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं फर्किए लगत्तै निर्माण व्यवसायीलाई बोलाएर तत्काल बाटो बनाउने पहल गर्ने विश्वास दिलाएका थिए तर काम भने भए । सरोकारवालासंगको छलफलमा पटक–पटक समयमा नै काम सकाउने प्रतिवद्धता जनाएपनि निर्माण व्यवसायीले कामलाई गति दिएको छैन ।


प्रतिक्रिया दिनुहोस