बालश्रममुक्त नगर बन्ने अभियानमा पनौती नगरपालिका

नौलो समाचार संवाददाता
२०८० फागुन १४, सोमबार मा प्रकाशित १५६ पटक पढिएको
बालश्रममुक्त नगर बन्ने अभियानमा पनौती नगरपालिका

पनौती  /  बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी, २०६८ अनुसारका ३९ सूचक पुरा गरेर २०७८ असार ३० गते बालमैत्री स्थानीय तह घोषणा भएको पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणाको तयारीमा जुटेको छ ।

बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गर्ने सन्दर्भमा पनौतीलाई बालश्रममुक्त नगर घोषणाको लागि पूर्वाधार लगायतको तयारी थालेको हो । पनौती नगरपालिकाको वडा नं ११ जिल्लाको पहिलो बालश्रमुक्त वडा घोषणा भइसकेको छ भने २०७९ फाल्गुन १५ गते वडा नं ५ र १६ गते वडा नं ८ बालश्रममुक्त वडा घोषणा हुँदैछ ।

पनौती नगरपालिकाका अधिकृत केशव बञ्जाराका अनुसार, बालश्रम बिरुद्धको चेतना अभिबृद्धी तथा प्रचार प्रसारको लागि ब्यबसाय तथा घर परिवार स्तरमा १ घर १ मिनेट जनप्रतिनिधी अभियान सञ्चालन गरी बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता लिईएको छ ।

हालसम्म बालश्रमको तथ्यांक संकलनको लागि डाटा एप्लिकेशनको प्रयोग गरेर उक्त तथ्याकंको अन्तिम प्रतिबेदन प्राप्त भएको छ । नगर आफैँले बालश्रम मुक्त नगर घोषणा कार्यबिधी तयार गरेको जानकारी दिँदै उनले होडिङ बोर्ड, ब्रोसियर, हाते पर्चा र प्रतिबद्धता पनि तयार गरिएको बताए । वालश्रम विरुद्ध सक्रिय संघ संस्था तथा व्यवसायीलाई प्रोत्साहन तथा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
तथ्यांक अनुसार, पनौतीका ४ जना बालबालिका श्रमका लागि अन्यत्र गएका छन् भने अन्यत्रका १७ जना श्रमका लागि पनौती आएका छन् । विद्यालय जान छाडेका ४२ बालश्रमको जोखिममा हुन सक्ने बञ्जाराले जानकारी दिए ।

उनका अनुसार, सबै वालवालिकाको जन्म दर्ताको विवरण तयार गर्ने, बालश्रम निवारण सम्बन्धी थप चेतनामूलक र मनोपरामर्श सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, अन्तरपालिका समन्वय गर्ने, बालश्रमिक सम्बद्ध वा बालश्रमको जोखिममा रहेका बालबालिकाको परिवारका लागि वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त नगर घोषणा गर्न सरोकारवालासंग पटक पटक छलफल गरिएको भन्दै तथ्यांक रुजु गर्न जनप्रतिनिधीसंग एक घर एक मिनेट कार्यक्रम नै सञ्चालन गरिएको उनले बताए । उनले बालमैत्री स्थानीय नगरको दिगोपनाको लागि काम गरिरहेको बताए ।

उपप्रमुख गिता बञ्जाराले बालमैत्री स्थानीय शासनको ५१ वटै सूचक पुरा गर्न लाग्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस