पनौती नगरपालिका वडा नं. ५ बालश्रममुक्त वडा घोषित

नौलो समाचार संवाददाता
२०८० फागुन १५, मंगलबार मा प्रकाशित ८९ पटक पढिएको
पनौती नगरपालिका वडा नं. ५ बालश्रममुक्त वडा घोषित

पनौती /  पनौती नगरपालिका वडा नं. ५ बालश्रममुक्त वडा घोषित भएको छ ।

वडा तहमा भएको सर्वेक्षणमा बालश्रममा बालबालिका नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने प्रतिवद्धतासहित वडालाई बालश्रममुक्त घोषणा गरिएको हो ।

वडाभित्रका होटल, उद्योग लगायतमा अनुगमन गरिएको बालमैत्री सहजकर्ता गिता दाहालले जानकारी दिइन् ।

बालश्रममा रहेका अन्यत्रका ९ जना बालबालिकाहरुलाई विद्यालय जाने व्यवस्था मिलाएको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिए । बालश्रम हुन सक्ने क्षेत्रमा निगरानी गर्ने र बालबालिकाको प्रयोग भएको पाइए कानून बमोजिम कार्वाही हुने बताए ।

मंगलबार स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकालाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए । सो प्रतिवद्धतापछि नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा घोषणा गरेका हुन् ।

नगर प्रमुख भण्डारीले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकालाई श्रममा लगाउन पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताए । उनले नगरलाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताए ।

नगर उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगरपालिकाका शिक्षा शाखा निर्देशक प्रणराज न्यौपाने लगायतले लगायतले बालअधिकार सुरक्षित गर्दै बालबालिकालाई कानुन विपरितका श्रममा लगाउन नहुने तर्क गरे ।

बालश्रममूक्त वडा बनाउन सहयोग गरेको भन्दै वडामा सञ्चालित होटल, कलकारखाना लगायतका सञ्चालकहरु एवं विभिन्न संघसंस्थालाई प्रसंशापत्र प्रदान गरियो ।

२०७९ सालको एस.ई.ईमा उत्कृष्ट अंक ल्याउने वडा नं ५ का विद्यार्थीका साथै साहित्यकार राजसुन्दर देउजालाई सम्मान गरिएको थियो ।

नगरलाई नै बालश्रममुक्त घोषणा गर्न लागेको पनौतीको यसअघि वडा नं ११ बालश्रममुक्त घोषणा भइसकेको छ भने फाल्गुन १६ गते वडा नं ८ घोषणा गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस