धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

नौलो समाचार संवाददाता
२०८० फागुन २३, बुधबार मा प्रकाशित १४५४ पटक पढिएको
धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

धुलिखेल /  धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु गरिएको छ ।

आफ्नो रुचि, खुबी र क्षमता अनुसारको पढाई र रोजगारी छनोट गर्न सक्षम जनशक्ति तयार गर्न सरकारी तवरमा उक्त सेवा शुरु गरिएको हो ।

नेपाल र स्वीट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय संझौता बमोजिम सञ्चालन भएको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (ENSSURE) र बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त प्रयासमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गरिएको हो। हेल्भेटासले पाठ्यक्रम निर्माण लगायत अन्य प्राविधिक र व्यवस्थापकीय पाटोमा सघाएको छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउलीले वृत्ति मार्गनिर्देशन सेवा एवं डिजिटल प्लेटफर्म संयुक्त रुपमा उद्घाटन गरे ।

मन्त्रालयका प्रवक्ता खुबीराम अधिकारीका अनुसार, कक्षा ८, ९ र १० का विद्यार्थीसहित युवाहरूलाई व्यक्तिगत र सामूहिक परामर्श मार्फत वृत्ति मार्गनिर्देशन सेवा उपलव्ध गराइनेछ । पेशाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न‚ पेशा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्ने उनले जानकारी दिए । ‘सहभागीको रुचि र खुबी अनुसार कुन पेशा रोज्ने भन्ने निर्णय गर्न सक्ने बनाउनु हाम्रो उद्धेश्य हो,’ उनले भने । सहभागीको रुची, खुब र ५ प्रकारका क्षमता परिक्षण गरिन्छ ।

उनका अनुसार, वृत्ति मार्गनिर्देशन सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएको परामर्शकर्ताहरुबाट सेवा प्रदान हुनेछ । प्रदेशको सामाजिक विकास मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरि उनीहरूको रुचि, खुबी र श्रम बजारको मागको आधारमा सम्भावित वृत्ति मार्गहरू पहिचान गरिनेछ । प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा विद्यालय र रोजगार सेवा केन्द्र मार्फत यो सेवा विस्तार गर्नेछन् ।
मन्त्री मोक्तानले वृत्ति मार्गनिर्देशन (करिअर काउन्सिलिङ) महत्वपूर्ण रहेको तर्क गर्दै स्थानीय सरकारसँगको सहकार्यमा सेवाको सुदृढीकरण र विस्तार गर्न प्रदेश सरकारले आवश्यक स्रोत सधानको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताइन् । नेपालमा भविष्य छैेन भन्नेको लागि करिअर काउन्सिलिङ आवश्यक रहेको भन्दै उनले दक्ष जनशक्ति तयार गरेर स्वदेशमा नै रोजगारी सिर्जना गर्न प्रदेश सरकार लागेको बताइन् ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल मेउलीले स्विट्जरल्याण्डले शिक्षा, नवप्रवर्तन र युवा सशक्तिकरणमा गहिरो प्रतिबद्धता गरेको भन्दै सेवा केन्द्रले शिक्षा र रोजगारी बीचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाहरुले निर्णयहरू लिन र उनीहरूको व्यक्तिगत र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने अवसरहरू प्रयोग गर्न सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

स्वीजरल्याण्डको वृत्ति मार्गनिर्देशन केन्द्रको प्रबन्धक भेरा रेन्ट्सले स्विस शिक्षा प्रणाली र कानूनमा वृत्ति मार्गनिर्देशनका बारेमा फ्यूचर क्याप्टन्स इन इन्डियाका संस्थापक/ सीईओ  तमिलसेल्भान महालिंगमले भारतीय युवाहरूमा वृत्ति मार्गनिर्देशन र सरकारको भूमिकाबारे आफ्नो अनुभव र दृष्टिकोण अनलाइन प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय शिक्षा विद्यालयका डीन प्रा. डा बालचन्द्र लुइटेल‚ शिक्षा‚विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. भीष्मकुमार भूसाल, बुढानीलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख र वृत्ति मार्गनिर्देशन शिक्षकबीच प्यानल छलफल भएको थियो ।

विद्यार्थी र युवाहरूका लागि वृत्ति मार्गनिर्देशनको महत्व, नेपालको शिक्षा क्षेत्रको रूपान्तरणमा यसको सम्भावित योगदान र सेवा विस्तारको लागि सहकार्यका बारेमा प्यानल छलफल भएको थियो । टिम लिडर रविन्द्र बहादुर सिंहले सञ्चालन गरेका थिए ।

वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन सम्बन्धी प्रदेश सरकारले शुरु गरेको अभ्यास र कार्य दिशाका सम्बन्धमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता रहेका उपसचिव खुविराम अधिकारीले प्रस्तुतीकरण गरेका थिए ।

प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा भीष्मकुमार भूसालले वृति मार्गनिर्देशनलाई बाग्मती प्रदेशको शिक्षा नीतिमा नै समावेश गरेको बताए ।

कार्यक्रममा हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर डा. प्रविण मानन्धर, कर्णाली प्रदेश महाशाखा प्रमुख जवारलाल हमाल, मध्यपुर ठिमि नगरपालिकाका शिक्षा अधिकृत ज्ञानेन्द्र भट्ट लगायतले वृत्ति मार्गनिर्देशनको महत्व र उपयोगिताबारे चर्चा गरे ।


प्रतिक्रिया दिनुहोस