सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पुरा हुन्छ : राष्ट्रपति

नौलो समाचार संवाददाता
२०८० फागुन २७, आईतबार मा प्रकाशित १५१ पटक पढिएको
सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पुरा हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताएका छन् ।

आइतबार मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको आइतबार उदघाटन गर्दै उनले संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिए । उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुने तर्क गरे  । कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार भएको भन्दै त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।


मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पुर्याइएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य हुने तर्क गरे ।

संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न नगरपालिका सफल हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम लगायतले स्थानिय तहको सेवा प्रवाहबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले पर्यटन र कृषिलाई प्राथमिकता राखेर अघि बढेको नगरपालिकाको नगरकोट क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गर्न पहल गरिदिन राष्ट्रपति समक्ष अनुरोध गरे ।

नगर उपप्रमुख बिष्णुमणि नेपाल भवनवाट नगरपालिकाले एकीकृत सेवा दिने बताए । उनले पुर्वाधार तयार भैसकेकोले नापी र मालपोतका साथै संविधानले अधिकार दिएका सबै सेवा सुरु गर्न स्थानीय तह सक्षम रहेको बताए ।


प्रतिक्रिया दिनुहोस