भुकम्पको ८ बर्षपछि बल्ल सुबिधायुक्त भवनमा सर्यो साल्धारा स्वास्थ्य चौकी

नौलो समाचार संवाददाता
२०८० चैत्र ३, शनिबार मा प्रकाशित २५७ पटक पढिएको

भुकम्पको ८ बर्षपछि बल्ल सुबिधायुक्त भवनमा सर्यो साल्धारा स्वास्थ्य चौकी

सालधारा/ २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी ८ बर्ष पछि वल्ल सुविधायुक्त भवनमा सरेको छ ।

२०७६ सालसम्म कोठा भाडामा लिएर सन्चालनमा आएको स्वास्थचौकी त्यसयता युनिसेफको सहयोगमा बनेको प्रिफ्यावको भवनबाट सेवा दिदै आएको थियो ।

भारतीय दुतावासको सहयोगमा २ करोड ६ लाख ६७ हजारको लागतमा ठेक्कामार्फत निर्माण सम्पन्न भएको हो ।

अपांगमैत्री उक्त भवनमा ५ वटा कोठाका अतिरिक्त स्टोर, भान्सासहितको आवास सुबिधा रहेको स्वास्थ्य चौकी इन्चार्ज रामकुमार रामले जानकारी दिए ।

पुर्वाधार बनेपछि सेवा प्रवाह र सेवा बिस्तार गर्न सहज हुने उनले बिस्वास गरे । उनका अनुसार, बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकिमा एक हेल्थ असिस्टेन्ट, एक अहेव, २ अनमी र एक कार्यालय सहयोगी कार्यरत छन् ।

बाग्मती प्रदेशका पुर्वमन्त्री एवं काभ्रे क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य तिर्थ लामाले शनिबार एक कार्यक्रममा विच भवन उद्घाटन गरे ।

पुर्वमन्त्री लामाले सो क्षेत्रका मतदाताको लागि आफू सधै ऋणि भएको भन्दै सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकासको लागि आफू सधै प्रयत्नशील रहने बताए । विकासको लागि सबै राजनीतिक दल एकठाउँमा रहनुपर्ने भन्दै उनले बिकासमा राजनिती गर्न नहुने बताए । खानीखोला गाउँपालिकाको जिवनस्तर उकास्नु नै आफ्नो उदेश्य रहेको भन्दै सोही अनुसार विकास निर्माण र अरु योजना संचालन गर्ने प्रतिवद्धता जनाए । निर्वाचित भएको पहिलो बर्ष खोपासी-तालढुंगा सडकको लागि बजेटको पहल गरेको भन्दै आगामी ४ बर्षमा त्यसलाई पूरा गर्ने प्रतिवद्धता जनाए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जनताका सबै आवश्यकता एकै पटक पुरा गर्न नसकिने भन्दै ती क्रमशः पुरा गर्दै लगेको बताए । खानेपानी र सिचाइको क्षेत्रमा पुर्वमन्त्री तिर्थ लामामार्फत ठूलो मात्रामा बजेट बिनियोजन भएकोमा आभार प्रकट गर्दै उनले ती आयोजना क्रमशः पूरा गर्दै लैजाने बताए । खोपासी तालढुङ्गा सडक संघीय समपुरक योजनाका लागि प्रदेश सरकारमार्फत सिफारिस भएकोमा खुसी व्यक्त गर्दै त्यो सफल बनाउन सबैजनाले प्रयत्न गर्नुपर्ने बताए ।

 

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएको भन्दै यसलाई प्रभावकारी बनाइनुपर्ने बताए । शिक्षा र स्वास्थ्यलाई प्रभावकारी बनाउन सके मानिसहरुलाई गाउँमा नै टिकाउन सकिने तर्क गरे ।

खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्वाले चिटिक्क बनेको भवन जस्तै सेवा पनि उत्कृष्ट दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।

खानीखोला गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष बृहस्पति घिसिङ ले भवनसंगै सेवा पनि गुणस्तरिय हुने बिश्वास व्यक्त गर्दै सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।

कार्यक्रममा जग्गादाता शम्भु तितुङ, निर्माण कम्पनी प्रतिष्ठा-शिवालय जेभीलाई सम्मान गरिएको थियो ।

भवन उद्घघाटन कार्यक्रममा बोल्ने वक्ताले स्वास्थ्य चौकीको लागि प्रयोगशाला र एम्बुलेन्सको व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

कार्यक्रममा खानीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सन्तमान थिङ, २ का अध्यक्ष दशरथ लामा, ३ का अध्यक्ष सागर लामा, ५ का अध्यक्ष बुद्धीबहादुर स्याङ्तान, वडा नम्बर ७ का अध्यक्ष रामबहादुर मोक्तान, खानीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामपुकार यादव, समाजसेवि शेखर लामा, चित्र बहादुर गोले, मिना पाखृन, राजन अधिकारी, खानीखोला वडा नम्बर ६ का वडा सदस्य देवन सिं लामा, नेपाली काङ्ग्रेसका वडा सभापति च्याप्साङ लामा, नेकपा एमालेका मदनबहादुर लामा, माओवादी केन्द्रका मङल तितुङ, स्थानीय प्रेमबहादुर थोकर लगायतले स्वास्थ्य पुर्वाधार तयार भएपछि सेवा पनि बिस्तार हुने बिश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस