मन्दिर निर्माण गर्न बडालगाउँमा महायज्ञ

नौलो समाचार संवाददाता
२०८० चैत्र १०, शनिबार मा प्रकाशित १३३ पटक पढिएको

मन्दिर निर्माण गर्न बडालगाउँमा महायज्ञ

बनेपा /  धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ हुने भएको छ ।

आयोजक जनचेतना युवा समूहले बनेपामा पत्रकार सम्मेलन गरेर चैत्र १७ गतेदेखि २४ गतेसम्म महायज्ञ हुने जानकारी गराएका हुन् ।

९५ लाख लागत अनुमान गरिएको मन्दिर निर्माणको लागि उपभोक्ताले व्यहोर्नुपर्ने ४० प्रतिशत बराबरको ३८ लाख रकम जुटाउन स्थानीयले महायज्ञ आयोजना गरेका हुन् । मण्डप निर्माण, स्वागत सत्कार, पण्डित दान र दक्षिणा गरी करिब १० लाख खर्च हुने अनुमान गरिएको छ ।

समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरेर तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।

मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा) को प्रमुख आतिथ्यतामा हुने महायज्ञमा आचार्य विष्णुहरि बडा एवं आचार्य सुदर्शन बडाल प्रमुख वाचक छन् भने पण्डित रामहरि बडाल उपवाचक छन् ।

बडालगाउँ, क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन् । परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप नै पहलकदमी गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

चैत १७ गते कलशयात्रासहित हुने महायज्ञमा १८ गतेदेखि २४ गतेसम्म हरेक दिन सङ्गीतमय कथाप्रवचन हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस