कांग्रेस संगठन निर्माणमा केन्द्रीत हुन्छ : सह–महामन्त्री उपाध्याय

नौलो समाचार संवाददाता
२०८० चैत्र २४, शनिबार मा प्रकाशित ८३ पटक पढिएको
कांग्रेस संगठन निर्माणमा केन्द्रीत हुन्छ : सह–महामन्त्री उपाध्याय

पनौती /  नेपाली कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सत्ताको प्रतिपक्षी भूमिकामा आइपुगेको कांग्रेस संगठन निर्माणमा केन्द्रीत हुने बताएकी छन् ।

नेपाली कांग्रेस पनौतीको प्रथम नगर सम्मेलनलाई संवोधन गर्दै उपाध्यायले कांग्रेस अब कुनै पनि प्रकारको गठबन्धन गर्दैन भन्ने पक्षमा रहेको बताइन् । ‘यसअघि गठबन्धन गरेको दल माओवादी केन्द्रले कांग्रेसलाई धोका दिँदा केही समस्या त भएको छ, अब कांग्रेस पार्टी संगठन निर्माणमा केन्द्रीत हुन्छ,’ उनले भनिन्, ‘अब कुनै पनि दलसंग गठबन्धन गर्नुहुँदैन भन्ने पार्टीमा आवाज छ, कांग्रेसले अब गठबन्धन गर्दैन ।’ रोजगारी, शिक्षाको लागि विदेश जाने प्रचलन अन्य देशमा पनि भएपनि स्वदेशमा नै काम गर्ने वातावरण बनाउन तीनवटै तहका सरकार लाग्नुपर्ने उनले बताइन् ।

 

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले पार्टी र जनप्रतिनिधीविच सम्पर्क सुत्र बनाउन आवस्यक भएको तर्क गर्दै पार्टीको चिन्ता गर्न सबैमा अनुरोध गरे । एमालेले पनौती नगरपालिकामा ‘वितण्डा’ मचाइरहेको भन्दै ‘अराजनीतिक’ हर्कत बन्द गर्न चेतावनी दिए ।

कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीमा अनुशासन महत्वपूर्ण रहेको भन्दै पार्टी हराउने छुट कसैलाई पनि नभएको बताइन् ।

कांग्रेस जिल्ला सभापति एवं वाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले गठबन्धन तोडेर कम्युनिष्टले अस्थिरता चाहेको बताए । सुदृढ संगठन र प्रशिक्षित कांग्रेस बनाउन आफू संकल्पित भएको भन्दै उनले काभ्रेको विकास निर्माणमा आफ्नो सदैव साथ रहने प्रतिवद्धता जनाए ।

 

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा १ ख का सभापति चन्द्रबहादुर लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाली कांग्रेस पनौतीका कार्यवहाक सभापति श्रीराम थापा, उपसभापति पुरुषोतम कर्माचार्य लगायतले संगठन निर्माणमा जोड दिएका थिए ।

सोही अवसरमा नेपाली कांग्रेस पनौतीले पार्टीमा योगदान गरेका ७० बर्षभन्दा माथि उमेर भएका कृयाशिल सदस्यलाई सम्मान गरेको थियो ।

 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्य निर्वाचित भएका रामकाजी पहरी कांग्रेस प्रवेश गरेसँगै उनलाई नगर कार्यसमिति सदस्य मनोनित गरेको पत्र प्रदान गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस