पनौती–खोपासी सडक : कालोपत्रेको लागि बजेट सुनिश्चित नभए पनौती वडा नं १० का अध्यक्ष भण्डारी आमरण अनसन बस्ने

नौलो समाचार संवाददाता
२०८० चैत्र २५, आईतबार मा प्रकाशित १७५ पटक पढिएको
पनौती–खोपासी सडक : कालोपत्रेको लागि बजेट सुनिश्चित नभए पनौती वडा नं १० का अध्यक्ष भण्डारी आमरण अनसन बस्ने

खोपासी /  सडक चौडा गरिएका लामो समयसम्म पनि कालोपत्रे नगरिएको कारण धुलो र हिलोका कारण आवागनमा नै समस्या भएपछि आजित भएर पनौती नगरपालिका वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

आइतबार वडा कार्यालयमा नै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्नको लागि श्रोत सुनिश्चित नगरे २०८१ वैशाख १६ गतेबाट वडाको सिमानामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् । ‘वडा नं १० वरिपरीका सबै सडक कालोपत्रे हुँदा पनि पनौती खोपासी सडक कालोपत्रे भएन, यसका कारण हामीले धेरै सास्ती र गाली खानुपर्यो,’ उनले भने, ‘हामीले वडाले गर्न सक्ने केही रहेनछ, प्रत्येक बर्ष ५–१० लाखको ग्राभेल हालेर पनि केही हुने रहेनछ, २१ दिनसम्म पनि यो सडक कालोपत्रे हुने सुनिश्चिता भएन भने वैशाख १६ गतेबाट म आमरण अनसन बस्छु ।’

पनौती देखि क्लव घरसम्मको ४ किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयले धुलो, हिलो सामना गर्नुपरेको छ । सडकको दुरावस्थाका कारण सार्वजनिक यातायात नियमित सञ्चालन हुन नसक्दा स्कुल, कलेजका विद्यार्थी थप मारमा परेका छन् ।

वडाअध्यक्ष भण्डारीका अनुसार, प्रदेश अन्तर्गतको सडक भएको कारण वडा र नगरले बजेट विनियोजन गर्दा अपर्याप्त हुने भएकोले प्रदेश वा संघीय योजनामा पर्ने भन्दै स्थानीय धैर्य रहँदै आएका थिए । ‘सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका पूर्वमन्त्री तीर्थ लामाले पहल गर्दै सो सडकको लागि १४ करोड ४६ लाख बराबरको बोलपत्र आव्हान हुने भन्ने खबरले हामीले खुशी भएका थियौं, तर पछि सरकार परिवर्तन भएपछि प्रदेशको अर्थ मन्त्रालयमा सचिवले हस्ताक्षर गर्न नमानेको कारण स्रोत सुनिश्चित हुन नसकेर काम अघि बढ्न नसकेको जानकारी आएको छ,’ उनले भने, ‘अबको २१ दिनसम्म पनि यो सडकको लागि बजेट विनियोजन भएन भने म आमरण अनशन बस्नेछु ।’

नेपाली कांग्रेस पनौती १० का सभापति महेन्द्र वाग्लेले पार्टीले पटक पटक निर्णय गरेर कालोपत्रेको लागि प्रदेश मन्त्रालयमा पहल गरेपनि सरकार परिवर्तन भएसंगै स्रोत सुनिश्चित हुन नसकेको बताए ।


प्रतिक्रिया दिनुहोस