भकुन्डे–मेच्छे सडक : म्याद सकिन ४ महिना बाँकी हुँदा २२ प्रतिशत प्रगति

नौलो समाचार संवाददाता
२०८० चैत्र २५, आईतबार मा प्रकाशित ११७ पटक पढिएको
भकुन्डे–मेच्छे सडक :  म्याद सकिन ४ महिना बाँकी हुँदा २२ प्रतिशत प्रगति

भकुण्डेवेशी /  आयोजना सम्पन्न गर्ने म्याद सकिन करिब ४ महिना मात्रै बाँकी हुँदा निर्माणाधीन भकुण्डे–मेच्छे –मुक्पाटार–तित्रेटार– माम्दी सडकको भौतिक प्रगति २२ प्रतिशत मात्रै छ ।

भौतिक प्रगति २ प्रतिशतमा अलपत्र छाडिएको सडक निर्माणले मंसिर देखि केही गति लिएपनि समयमा सकिनेमा स्थानीयको आशंका छ । उनीहरुले सरोकारवालाहरुले तदारुकता देखाएर समयमा नै सम्पन्न गर्न दबाब दिनुका साथै आधार तयार गर्नुपर्ने बताएका छन् ।

‘निर्माण व्यवसायीको लापार्वाही र अन्य सरोकारवालाको गैरजिम्मेवारीपनका कारण अलपत्र भएको सडकका कारण हामीले निकै सास्ती बेहोर्नुपर्यो,’ स्थानीय माधवप्रसाद कँडेलले भने, ‘आयोजना समयमा नै सक्ने लिखित प्रतिवद्धता हुनुपर्छ ।’

स्थानीय प्रेम प्रसाद चिमौरियाले अलपत्र पारिएको सडकमा बर्षाको समयमा एम्बुलेन्स समेत जाने अवस्था नभएको भन्दै समयमा नै सकाउन अनुरोध गरे ।

२०८१ साउन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी २०७९ साउन १६ गते के. एस देवीरमण–तेज (जे.भी) सँग २० करोड ८९ हजार ६ रुपैयाँ ४३ पैसामा सम्झौता भएको थियो ।सम्झौता अनुसार, नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट कोट तेमाल खण्डमा ७ किलोमिटर र तेमाल गाउँपालिकाको याङवेलबाट चापाखोरी खण्डमा ६ किलोमिटर काम गर्नुपर्नेछ । टेवा पर्खाल, नाली, बेस, सब–बेस र कालोपत्रेको काम हुनेछ ।

निर्माण व्यवसायी सचिन बजगाईले यसअघि साझेदारको तर्फबाट ढिलाई भएको स्विकार्दै आफू आएपछि कामले गति लिएको बताए । ‘सम्झौता भएको १७ महिनाको अवधीमा काम नभएको हो, मैले जिम्मा लिएपछि ३ महिनाको अवधीमा २ प्रतिशतको भौतिक प्रगतिलाई २२ प्रतिशत बनाएका छौं,’ बजगाईले भने, ‘सबै सरोकारवालाबाट सहयोग भयो भने असार मसान्तसम्म पहिलो ७ किमी कालोपत्रे गर्छौं र बाँकी अवधीमा अर्को खण्डमा गर्छौं ।’

अनुगमनका क्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले निर्माण व्यवसायीलाई सक्ने खालको प्रतिवद्धता मात्रै गर्न भन्दै कार्यतालिका बनाएर काम गर्न अनुरोध गरे ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले सडक निर्माण अलपत्र हुँदा जनताले धेरै सास्ती पाएको भन्दै स्थानीय स्तरमा भएका अवरोध, समस्या समाधान गर्न आफू तयार रहेको बताए ।

जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङले निर्माण व्यवसायीलाई अझै पनि ढिलाई गर्ने छुट नभएको भन्दै सहयोग, सहजीकरणको लागि तयार भएको बताए ।

सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर बिन्दु अधिकारीले कार्यतालिका अनुसार समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेका गर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस