विपद व्यवस्थापन समितिले थाल्यो विपद प्रतिकार्य योजना

नौलो समाचार संवाददाता
२०८० चैत्र २९, बिहिबार मा प्रकाशित ९४ पटक पढिएको
विपद व्यवस्थापन समितिले थाल्यो विपद प्रतिकार्य योजना

धुलिखेल /  जिल्ला विपद व्यवस्थापन समितिले थाल्यो विपद प्रतिकार्य योजनाको तयारी थालेको छ ।

डढेलो, आगलागीका घटना बृद्धि हुँदै गएको र मनसुन शुरु हुनै लाग्दा सरोकारवालाको सहभागितामा विपद प्रतिकार्य योजना थालिएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयका प्रतिनिधी सहभागी बैठकमा विपद सूचना दिएर नआउने भएकाले पूर्व तयारी थाल्नुपर्ने सबैको तर्क थियो ।

बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले स्थानीय तह नै पिच्छे विपदका स्वरुप फरक भएको चर्चा गर्दै पूर्वतयारी आवस्यक भएको बताए । आगलागीका घटना बढेको भन्दै उनले स्थानीय तहहरुले सहकार्य गरेर काभ्रेमा दमकल सञ्चालनमा ल्याउनुपर्ने बताए ।

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले इन्द्रावती नदीले जोखिम ल्याउने भन्दै सिमाकंनको लागि पहल गर्न सबैमा अनुरोध गरे ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले पुण्यमाता खोलाका कारण अरनिको राजमार्गमा हुने डुबान बनेपाको प्रमुख चुनौती भएको बताए ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले चट्याङ र पहिरोको जोखिम भएको भन्दै उद्धारको लागि सामाग्री तयारी अवस्थामा रहेको बताए ।

खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले सडकको दुरावस्थाका कारण सधै विपदको जोखिम हुने बताए ।

पाँचखालका प्रवक्ता सञ्जय तामाङले डढेलोको जोखिम भएको भन्दै वडा–वडालाई विपद प्रतिकार्य सामाग्री दिन लागिएको बताए ।

धुलिखेल वडा नं ६ का अध्यक्ष सञ्जय कोजूले कोरोना, डेंगु लगायतको जोखिम पनि बढेको भन्दै स्वास्थ्य विपदलाई पनि ध्यान दिनुपर्ने बताए ।

बैठकमा सहभागी जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख राजु श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपमन्त्री राजु सिग्देल लगायतले विपद प्रतिकार्यको लागि कार्यालयले गरेको तयारीबारे जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी शर्माले मौसमविद्का अनुसार यो बर्ष बढी बर्षा हुने आकंलन भएकोले बढी प्रभावित हुने भएकोले तयारीको लागि बैठक बसेको बताइन् । डढेलोेको घटना बढी रहेको भन्दै उनले आगो लगाउनेलाई कार्वाही गर्ने चेतावनी दिइन् ।विपद प्रतिकार्य, राहत र उद्धारको लागि स्थानीय तहविच सहकार्य हुनुपर्ने भन्दै उनले जनशक्ति लगायत श्रोत परिचालन गर्न अनुरोध गरिन् । जिल्लामा दमकल अत्यावश्यक भएको भन्दै उनले विपदका सामाग्री समन्वय नभए समितिले ‘तान्ने’ बताइन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी निरिक्षक (एसपी) बसुन्धरा खड्काले राहत र उद्धारका लागि तयारी गर्नुपर्ने भन्दै स्थानीय तहमा रहेका विपद उद्धार समाग्री सुरक्षा निकायमार्फत परिचालन गर्न अनुरोध गरिन् ।

सशस्त्र प्रहरी बल १५ नं गण पाँचखालका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) त्रिभुवन विष्टले आगो लगाए पालुवा पलाउने गलत सोचका कारण डढेलोका घटना बढेको भन्दै सबै सचेत हुनुपर्ने बताए ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी संकट अवस्थामा रहेका समुदाय एवं वस्तीहरुको पहिचान तथा र जोखिम न्यूनिकरणका उपायहरु अवलम्वन गर्ने, विपद् प्रतिकार्यका लागि अवश्यक पर्ने सामाग्रीहरुको सम्बन्धित सबै निकायहरुले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकलहरु अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्ने लगायतकोे निर्णय गरेको छ ।

बैठकले विपद्को समयमा तत्काल सेवा दिन सक्ने गरी स्वास्थ्य संस्था, औषधी र जनशक्तिहरुलाई तयारी अवस्थामा राख्ने, विकास आयोजना सञ्चालन गर्दा र निर्माण सामाग्री उत्पादन गर्दा विपद् जोखिम न्युनिकरणका उपायहरु अवलम्वबन गरी मापदण्डको पुर्ण पालना गर्नुपर्ने, वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यलयले स्थानिय तहसँग समन्वय गरी प्रभावकारी कार्ययोजना वनाएर काम गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस