बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

नौलो समाचार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित ९२ पटक पढिएको
बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

बनेपा / बनेपा वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा मन्त्रालयले कार्यालय स्थापना गर्न लागेको हो ।

मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लालाई लक्षित गरी खुर्कोटमा कार्यालय स्थापना गरेको थियो ।

काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाका सेवाग्राहीले अघि भक्तपुरस्थित कार्यालयबाट सेवा लिँदै आएका छन् ।

कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिए । मन्त्री लम्सालले मन्त्रालय सेवा विस्तार गर्ने अभियानमा लागेको भन्दै काभ्रे लगायतका आपसासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले यातायात व्यवस्था कार्यालयका सेवालाई डिजिटल बनाउँदै लगेको पनि बताए ।

शुक्रवार एक कार्यक्रमविच बनेपा नगरपालिका र बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयविच सोबारे सम्झौता भएको छ । सम्झौता अनुसार, बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० बर्षको लागि निशुल्क उपलव्ध गराउनेछ ।

मन्त्री लम्साल, नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, वडा नं ६ का अध्यक्ष सचितानन्द केसीको रहोवरमा भएको सम्झौतामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले हस्ताक्षर गरेका छन् ।

बनेपा नगरप्रमुख शान्तीरत्न शाक्यले कार्यालय स्थापना हुनु बनेपाको लागि गौरवको विषय भएको भन्दै यसले स्थानीयहरु लाभान्वित हुने विषय गरे । उनले व्यवस्था कार्यालय बनेपामा स्थापना गर्ने निर्णय गरेकोमा मन्त्रालयलाई आभार प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस