ग्रीन हाइड्रोजन अध्ययनको लागि सम्झौता

नौलो समाचार संवाददाता
२०८१ बैशाख ८, शनिबार मा प्रकाशित ५८ पटक पढिएको
ग्रीन हाइड्रोजन अध्ययनको लागि सम्झौता

धुलिखेल/ ग्रीन हाइड्रोजन उत्पादनसम्बन्धी अध्ययन गर्न काठमाडौं विश्वविद्यालय (केयू) र नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनी बीच तीनबुँदे सम्झौता भएको छ ।

सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्ययन प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ । दुप्चेश्वर गाउँपालिकास्थित तल्लो ताँदी जलविद्युत् आयोजना उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना सञ्चालन गर्नेछ ।

केयूको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका प्रमुख विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक राम लामा तथा कम्पनीको तर्फ अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूले २०७९ चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो । केयूलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको छ ।

निगमकै सहयोगमा कात्तिकमा कोरियाबाट हुण्डाइको नेक्सो कार भित्राउनुका साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस