पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण थालियो, पूर्वमन्त्री लेखकले गरे शिलान्यास

नौलो समाचार संवाददाता
२०८१ बैशाख ८, शनिबार मा प्रकाशित ८०४ पटक पढिएको
पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण थालियो, पूर्वमन्त्री लेखकले गरे शिलान्यास

पात्लेखेत / धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण शिलान्यास गरिएको छ ।

विगत ४ सय वर्षदेखि पुजा आराधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक पूर्वाधार (मन्दिर) पुनर्निर्माण थालिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभाका प्रमुख सचेतक रहेका पूर्वमन्त्री रमेश लेखकले मन्दिर शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै पूर्वमन्त्री लेखकले सो क्षेत्रको धार्मिकता, ऐतिहासिकता, प्राकृतिक सौन्दयर्य बचाइराख्न अनुरोध गरे । सो क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले मन्दिर निर्माणको लागि सबैको सहयोग आवस्यक भएको बताए ।

मन्दिर पुनर्निर्माणको सहयोगार्थ हनुमान मन्दिर संरक्षण, निर्माण समितिले २०८० फाल्गुन ११ देखि १७ गतेसम्म श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरेको थियो । २ करोड लागत अनुमान गरिएको मन्दिर पुनर्निर्माणको लागि महापुराणबाट ४३ लाख भन्दा बढी संकलन भएको संरक्षण तथा निर्माण समितिका अध्यक्ष वासुदेव उपाध्याय धितालले जानकारी दिए ।

स्थानीय लक्ष्मीप्रसाद धितालका अनुसार, भक्तपुरका राजा जगतज्योती मल्लबाट कुशविर्ता पाएछि लाटु पाध्या धिताल सो स्थानमा बसोबास थालेका थिए । १६८० सालमा उनका पनाती महेश्वर पाध्या धितालले मुर्ति स्थापना गरेका थिए । सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने भन्दै उनले मन्दिर पुनर्निर्माणको लागि नपुग रकम भक्तजन, दानवीर, जनप्रतिनिधी, उद्योगी, समाजसेवी व्यक्तित्वबाट सहयोग जुटाउनुपर्ने बताए ।

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेस काभ्रेका सभापति रहेका बाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामा, उपसभापति रमेश हुमागाई, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, वडा नं ११ का अध्यक्ष नारायण बडाल, वडा नं ९ का अध्यक्ष बद्रिप्रसाद हुमागाईलगायत स्थानीय धार्मिक तथा सामाजिक व्यक्तित्वको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस