बडालगाउँमा भएको महायज्ञको सामाजिक परीक्षण, ६६ लाख ८४ हजार संकलन

नौलो समाचार संवाददाता
२०८१ बैशाख ९, आईतबार मा प्रकाशित ४४ पटक पढिएको
बडालगाउँमा भएको महायज्ञको सामाजिक परीक्षण, ६६ लाख ८४ हजार संकलन

बडालगाउँ  /  धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा लगाइएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञको सामाजिक परिक्षण गरिएको छ ।

आयोजक समितिले भेला गरेर महायज्ञ सञ्चालन गर्दाको आय÷व्यय प्रस्तुत गरेका हुन् । ६६ लाख ८४ हजार ४ सय ७ रकम संकलन भएको र कुल खर्च १३ लाख ७१ हजार ५ सय ८९ भएको समितिका कोषाध्यक्ष पार्वती केसीले बताइन् । तुलादान, धान विक्री, कलश विक्री समेतको आम्दानी समावेश गरिएको समितिका सहसंयोजक रमेशप्रसाद बडालले जानकारी दिए ।

समितिका अध्यक्ष रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सामाजिक परिक्षणमा सचिव नवराज बडालले दाताहरुको नामावली प्रस्तुत गरेका थिए । भेलामा जनचेतना यूवा समूहका संस्थापक अध्यक्ष उद्धवप्रसाद वडाल, पूर्व अध्यक्ष साधुराम बडाल, स्थानीय नागरिक र बुद्धिजीवीको सहभागिता थियो ।

 

धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञमा विभिन्न दाताले जग्गा, नगद समेत दान गरेका थिए । स्थानीय तीर्थप्रसाद बडालको परिवारले ३ आना जग्गा दान गरेका छन् । धुलिखेल नगरपालिकाले निर्माण शुरु गरेपछि २० लाख र वडा नं ८ ले १० लाख विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । प्रमुख वाचक रहेका आचार्य विष्णुहरि वडाल एवं आचार्य सुदर्शन बडाल, उपवाचक पण्डित रामहरि बडाल, गणेशको भूमिकामा रहेका कृष्णहरी बडाल र सानुराम सुवेदीले समेत आफूले प्राप्त गर्ने दक्षिणा मन्दिर निर्माणकै लागि सहयोग गरेका थिए ।

बडालगाउँ क्षेत्रलाई पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन् । बडाल गाउँमा धार्मिक अनुष्ठान सेवा केन्द्र निर्माणको अभियानमा जुटिने संयोजक न्यौपानेले बताए ।

चैत्र १८ गतेबाट शुरु भएको महायज्ञ मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा)ले उद्धघाटन गरेका थिए । चैत्र २४ गतेसम्म हरेक दिन सङ्गीतमय कथाप्रवचन भएको थियो ।


प्रतिक्रिया दिनुहोस