रोशीका सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा हुँदै

नौलो समाचार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार मा प्रकाशित १२८ पटक पढिएको
रोशीका सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा हुँदै

भिमखोरी । रोशी गाउँपालिकाले सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गर्दै लगेको छ ।

४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र निशुल्क भएको सुनिस्चित भएपछि सो घोषणा गरिने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, सो उमेर समुहका सबै बालबालिका विद्यालय गएको यकिन गर्न १२ वटै वडाका समुदायमा सर्वेक्षण गरि तथ्यांक संकलन गरिएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको छ । गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको छ ।

पहिलो पटक वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भइसकेको छ ।

शुक्रबार वडा नं. १२ मा घोषणा गरियो । सो वडाको ५ सय २५ घरधुरीमा ४ देखि १३ बर्षसम्मका ५ सय ३६ बालबालिका सबै विद्यालयको पहुँचमा भएको पाइएकाले वडा अध्यक्ष वसन्तकुमार तामाङले घोषणाको लागि प्रस्ताव गरेका थिए । गाउँ शिक्षा समितिको निर्णय र वडा अध्यक्ष तामाङको प्रस्तावमा गाउँपालिका अध्यक्ष दिनेश लामाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा स्थानिय तहले साथ दिएको बताए । उनले कार्यान्वयन सहज बनाउन विद्यालय एकीकरणका साथै शिक्षक दरवन्दी थप्दै लैजाने बताए । विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन अनुरोध गर्दै गाउँपालिकाले अप्ठ्यारोमा सहयोग गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले २०८१ बैशाखसम्ममा सबै वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्दै २०८१ जेठको तेस्रो साता सम्म गाउँपालिकालाई नै घोषणा गर्न लागिएको जानकारी दिए । अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकिय अधिकृत तामाङले बताए ।

समुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष रहेका स्थानीय गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज मुक्तानले मौलिक अधिकारको रुपमा रहेको शिक्षा अनिवार्य र नि:शुल्क बनाउन स्थानीय सरकारले प्राथमिकता दिएकोमा आभार प्रकट गरे ।

वडा अध्यक्ष वसन्तकुमार तामाङले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गर्न पाउनु वडाको लागि गर्वको बिषय भएको भन्दै सबै सरोकारवालाबाट सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका विरबहादुर भोम्जन, नेकपा एमालेका असलमान भोम्जन,नेकपा (माओवादी केन्द्र) का सुब्बालाल भोम्जन, वडा शिक्षा समितिका सदस्य तिर्थलाल मोक्तान, विन्धवासिनी आधारभुत विद्यालयका प्रधानाध्यापक सरिताकुमारी थापा, सर्वेक्षक यमुना भुजेल लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्दै अन्य व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस