रोशी उद्योग वाणिज्य संघ गठन, कटुञ्जेवेशीमा कार्यालय सञ्चालन

नौलो समाचार संवाददाता
२०८१ बैशाख १५, शनिबार मा प्रकाशित १८४ पटक पढिएको
रोशी उद्योग वाणिज्य संघ गठन, कटुञ्जेवेशीमा कार्यालय सञ्चालन

कटुञ्जेवेशी/ रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन गरिएको छ । जिल्ला र नगरमा गठन हुँदै आएको उद्योग वाणिज्य संघ गाउँपालिकामा पनि गठन भएको हो ।

गणजित बल (मनिष)को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छा मान लामा, द्वितीय उपाध्यक्ष वृक माया तामाङ, महासचिव बिकास लामा, सचिव निर्जला थापा आचार्य र कोषाध्यक्ष चन्द्रबहादुर लामा छन् । सदस्यहरुमा मञ्जु लामा, कविता रायमाझी, अमृत लामा, लक्ष्मी वाईबा, आशा लाल लामा, बिर सिं लामा छन् ।

जिल्ला प्रशासन कार्यालय, रोशी गाउँपालिकामा दर्ता, सुचिकृत भइसकेको उद्योग वाणिज्य संघले शनिवारबाट कटुञ्जेवेशीमा कार्यालय समेत सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्धघाटन गरे ।


उप–प्रमुख तामाङले परम्परागत रुपमा कुनै पनि उत्पादन गर्दा त्यसले लागत समेत बढाउने भन्दै व्यवसायिकरणमा जोड दिए । युवाहरुले केही न केही उद्यम गर्नुपर्ने तर्क गर्दै उनले रोशीमा गठन भएको उद्योग वाणिज्य संघले यहाँको समृद्धीमा भुमिका खेल्ने बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले देशमा ठूला उद्योग स्थापना हुन नसकेको तर्क गर्दै स्थानीय तहमा कृषिमा आधारित, साना, मझौला, घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । उत्पादन भन्दा बजारिकरणको समस्या प्रमुख देखिएको भन्दै उनले सहकार्य गर्न स्थानीय तह तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजूले उद्योगी, व्यवसायी धारासायी अवस्थामा पुगेको भन्दै स्थानीय सरकारहरुले सहकार्य गर्नुपर्ने तर्क गरे ।

वरिष्ठ पत्रकार इश्वरी ओझाले साना उद्यमीलाई प्रोत्साहन गर्दै सबै व्यवसायीलाई समेटेर लैजान संघलाई अनुरोध गरे ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठले व्यवसाय कर उठाउनको लागि स्थानीय तहले उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिएर सहकार्य गर्नुपर्ने बताए ।

नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले व्यवसायी राज्यको मेरुदण्ड भएकोले सहकार्य गर्दै संघलाई स्थानीय सरकारका कार्यक्रमका जिम्मेवारी दिन अनुरोध गरे ।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं १२ का अध्यक्ष वसन्तकुमार तामाङले रोशीमा पर्यटन व्यवसायको सम्भावना रहेको भन्दै एग्रो–टुरिजममा जोड दिनुपर्ने बताए ।

रोशी उद्योग वाणिज्य संघका अध्यक्ष गणजित बल (मनिष)ले सबै पक्षको सहयोग र सहकार्यमा नै अघि बढ्ने भन्दै उनले सीप विकास तालिम, आयआर्जनका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई अनुरोध गरे । गाउँमा नै उद्योग, व्यवसाय सञ्चालन गर्न सकियो भने उपत्यका र विदेशिएका युवालाई गाउँ फर्काउन सकिने बताए ।

कार्यक्रममा रोशी उद्योग वाणिज्य संघका महासचिव विकास लामा, सचिव निर्जला थापा आचार्यले लगायतले रोशीमा उद्योग, व्यवसायका सम्भावना र चुनौतीका बारेमा चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस